आफ्नो घरमा काम गर्न राखिएकी १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका प्रहरी निरीक्षक बिदुर शिवाकोटीलाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले बुधबार शिवाकोटीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत शिवाकोटी स्वयम्भूमा बस्दै आएका थिए।
बालिकाको उजुरीपछि प्रहरीले गएको जेठ २३ गते उनलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो। पीडित बालिकाले आफूलाई शिवाकोटीले विगत तीन वर्षदेखि पटक–पटक जबरजस्ती करणी गर्दै आएको आरोप लगाएकी छिन्।
उनी ६ वर्षको उमेरदेखि शिवाकोटीको घरमा काम गर्न बसेको पाइएको छ।बालिकाले काठमाडौँ जिल्ला अदालतमा शिवाकोटीले १० वर्षको उमेरदेखि १३ वर्षको उमेरसम्म आफूलाई पटक–पटक जबरजस्ती करणी गरेको बयान दिएकी छन्।
शिवाकोटीको अत्याचार सहन नसकेपछि बालिकाले गएको जेठ २३ गते काठमाडौँ महानगरपालिकाको महानगर बाल अधिकार समितिका एक सदस्यलाई फोन गरेर उद्धारका लागि आग्रह गरेकी थिइन्।
बालिकाको सूचना अनुसार महानगरको टोलीले सोही दिन शिवाकोटीको घरमा पुगेर बालिकाको उद्धार गरेको थियो।
शिवाकोटीले श्रीमती नभएको बेलामा आफूलाई जबर्जस्ती करणी गर्ने गरेको बालिकाको आरोप छ। शिबाकोटीले श्रीमती निदाइसकेपछि पनि आफ्नो कोठामा आएर पटक–पटक करणी गरेको बयान पनि बालिकाले दिएकी छिन्।
स्वास्थ्य परीक्षणमा पनि शिवाकोटीले बालिकामाथि जबरजस्ती करणी गरेको पुष्टि हुने आधार भेटिएको प्रहरीले जनाएको छ।
मुलुकी अपराध संहिताअनुसार आरोप पुष्टि भए शिवाकोटीलाई १८ देखि २० वर्षसम्म कैद सजाय हुनेछ। त्यसैगरी उनले पीडित बालिकालाई ७ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने कानुनी व्यवस्था छ।