एकीकृत समाजवादीद्धारा मतदाता नामावली प्रकाशित

काठमाण्डु- नेकपा (एकीकृत समाजवादी) को दसौँ महाधिवेशन अन्तर्गत मतदाता नामावली प्रकाशित गरिएको छ । असार १६ गतेबाट सुरु भएको महाधिवेशनमा पेस भएका विभिन्न दस्ताबेजहरू अनुमोदन भएपछि आज मतदाता नामावली प्रकाशित गरिएको हो ।पार्टी मातहतका सम्बन्धित कमिटीले सोही नामावलीका आधारमा महाधिवेशन प्रतिनिधिका निम्ति मनोनयन दर्ता, उमेदवारहरूको सूची असार ५ गते प्रकाशन गर्ने कार्यतालिका छ । योग्यता नपुगेका उमेदवारविरुद्ध उजुरी दिने, छानबिन गर्ने, उमेदवारको नामावली पनि सोही दिन प्रकाशन गरिनेछ ।

बुधबार नै उमेदवारको नाम फिर्ता लिने, सर्वसम्मति नभए मतदान गर्ने, मतदान सकिएलगत्तै मतगणनाको समयसीमा निर्धारण गरिएको छ । सम्बन्धित कमिटीले मतपरिणाम सार्वजनिक गरेपछि त्यसको अभिलेख केन्द्रमा पठाउनुपर्नेछ ।

काठमाण्डुको कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनमा अध्यक्षमा नेता माधव कुमार नेपाल र महासचिव घनश्याम भुसालबिच प्रतिस्पर्धा हुने देखिन्छ ।
२१ सदस्यीय पदाधिकारी सहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने निर्णय एकीकृत समाजवादीले गरिसकेको छ ।

सेयर गर्नुहोस्