रुकुमपश्चिम, । रुकुमपश्चिमको आठविसकोट नगरपालिका –१४ को बाँकेडाँडा गाउँका भूकम्पपीडितका अस्थायी आवास (टहरा) पहिरोको जोखिममा छ ।
निरन्तर वर्षाको कारण बाँकेडाँडाका करिब २० अस्थायी टहरा पहिरोको उच्च जोखिममा रहेको वडा अध्यक्ष हुकुम बहादुर पुनले जानकारी दिनुभयो । गत वर्षको कार्तिक १७ गतेको भूकम्पको कारण घर क्षती भएपछि अस्थायी आवासका लागि बनाएका टहरा नै पहिरोको जोखिममा परेका हुन् । टहराहरु नै पहिरोको जोखिममा रहेपछि मानविय तथा अन्य क्षतीको त्रास बढेको वडा अध्यक्ष पुनले बताउनुभयो ।
उहाँका अनुसार बाँके गाउँका भरत केसी, लाली पुन, मन बहादुर बिष्ट, कर्ण बहादुर पुन, खिर्मी केसी, भिमे कामी, बुदे कामी, शेरबहादुर केसी, लिला केसी, जयबहादुर खत्री, अृमत नेपाली लगायत करिब २० जनाको अस्थायी आवास पहिरोको उच्च जोखिममा रहेका छन् ।
भूकम्पको कारण जमिन कमजोर रहेको र भिरालो जमिन रहेकोले वडाका अन्य बस्तीहरु समेत पहिरोको उच्च जोखिममा रहेको वडा अध्यक्ष पुनले जानकारी दिनुभयो । यहाँका विभिन्न विभिन्न स्थानहरुमा भूकम्पले जमिनको सतह नै चिरा चिरा पारेको छ । सबै वडावासीहरुलाई सतर्क तथा सुरक्षित रहन आह्वान गरिएको उहाँले उल्लेख गर्नुभयो ।