असार २८ गते विश्वासको मत लिने प्रचण्डको तयारी, बोलाए सत्तारुढ दलको बैठक

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असार २८ गते विश्वासको मत लिने भएका छन् ।

समर्थन फिर्ता लिएर नेकपा एमाले सरकारबाट बाहिरिएपछि प्रचण्डले पाँचौंपटक विश्वासको मत लिन लागेका हुन् ।

कांग्रेस र एमालेबीच एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएपछि एमालेले असार १९ गते समर्थन फिर्ताको निर्णय गरेको थियो ।

असार २८ गते शुक्रवार विश्वासको मत लिने गरी तयारी भएको प्रचण्डको सचिवालयले लोकान्तरलाई जानकारी दियो ।

‘विश्वासको मतको तयारीस्वरूप प्रधानमन्त्रीज्यूले आज साँझ सत्तारुढ दलका नेतालाई बोलाउनुभएको छ, त्यसपछि आइतबार संसद् सचिवालयलाई पत्राचार गर्छौं,’ सचिवालयका ती अधिकारीले भने ।

२०७९ पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले पाँचौंपटक विश्वासको मत लिन लागेका हुन् ।

सोही वर्षको पुस २६ गते पहिलोपटक विश्वासको मत लिएका प्रचण्डले पछिल्लोपटक गत जेठ ७ गते विश्वासको मत लिएका थिए ।

सरकारलाई दिएको समर्थन फिर्तासँगै नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न एमाले र कांग्रेसले प्रचण्डसँग आग्रह गर्दै आएका थिए । तर, प्रचण्डले भने संसद् फेस गर्ने बताउँदै आएका छन् ।

अल्पमतमा परेका प्रचण्डलाई रास्वपा र नेकपा एकीकृत समाजवादीको समर्थन छ ।

३२ सीटको माओवादी, २१ सीटको रास्वपा र १० सीटको एसबाहेक अन्य दलले प्रचण्डको साथ छाड्ने स्पष्ट संकेत गरेका छन् ।

सेयर गर्नुहोस्