कक्षाकोठामा पानीको भल पसेपछि पढाइमा समस्या

सिमकोट – सिमकोट गाउँपालिका– ५ को बालमन्दिर माध्यमिक विद्यालयको कक्षाकोठामा पानीको भल पसेपछि पढाइमा समस्या भएको छ। पाँच दिनदेखि लगातार परेको अविरल वर्षाका कारण उक्त विद्यालयका चार वटा कक्षाकोठामा भल पसेपछि पढाइमा समस्या भएको हो।

उक्त विद्यालयका प्रधानाध्यापक कैलाश रोकायाले माटो र ढुंगाको गाह्रो भएका कक्षाकोठा भएको कारण भवनको पछाडिपट्टीको भागबाट पानीको भल चार वटा कक्षाकोठामा पसेपछि पठनपाठनमा समस्या भएको बताए। विद्यालय सञ्चालन भएलगत्तै विद्यार्थी र कक्षा शिक्षक मिलेर कोठामा जमेको पानी फालिएको र त्यसपछि विद्यार्थीलाई विद्यालयको मञ्चमा राखेर पढाइ सुचारु गरिएको होे।

कक्षा दुई, तीन, पाँच र कक्षा नौको ऐच्छिक विषय पढाइ हुने अर्को एउटा कोठा गरी चार वटा कक्षामा पानीको भल पसेका कारण पढाइमा समस्या आएको हो। प्रधानाध्यापक रोकायाले यो समस्या बर्सेनि भोग्नुपरिरहेका कारण नयाँ भवन निर्माण गर्नुपर्ने वा कक्षाको भुइँ सिलिङका लागि धेरै निकायसँग अनुरोध गर्दा पनि हालसम्म सहयोगी निकाय नपाएको गुनासो गरे।

यसबाट ८० जना विद्यार्थी प्रत्यक्ष मर्कामा परेका छन्। गत बिहीबार बेलुकाबाट लगातार पानी परिरहेका कारण विद्यालयको कक्षाकोठामा पानीको भल पसेको हो। कक्षालाई अध्ययन गराउने शिक्षक कल्पना रावतले अब बर्खा लाग्यो पानी पर्नेबित्तिकै यो समस्या बारम्बार भोग्नुपरिरहेको बताइन्।

विद्यार्थीसँगै कक्षाकोठामा जमेको पानी फाल्ने कार्यमा उनी पनि लागेकी थिइन्। कक्षामा पानीको ठूलो भल पसेपछि पढाइ नै बन्द गरेर विद्यार्थीलाई घर पठाउनुपर्ने अवस्था विगतमा थियो।

यतिबेला भने मञ्चमा राखेर पढाइ गरिए पनि तीन वटा कक्षाका विद्यार्थी त्यसरी राख्दा हल्लाले पढाइमा समस्या देखिएको छ। जस्तापाताले छापेको कारण माथिबाट भने पानी पसेको छैन। उक्त विद्यालय जिल्लाका माविमध्ये सबैभन्दा बढी विद्यार्थी पठनपाठन गर्ने विद्यालय हो।

 

सेयर गर्नुहोस्