चितवन, यहाँको सरकारी भरतपुर अस्पतालमा आजबाट एमआरआई सेवा सञ्चालनमा आएको छ । संघीय सरकार र अस्पताल विकास समितिको गरी ३० करोड रुपैयाँमा मेसिन खरिद गरी सञ्चालनमा ल्याईएको हो ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले प्राविधिक परीक्षण गरेर सफलता मिलेपछि एमआरआई सञ्चालनमा ल्याईएको बताउनुभयो । उहाँका अनुसार ३० करोड रुपैयाँ लागतमा मेसिन खरिद गरिएको हो । संघीय सरकारको २५ करोड र अस्पताल विकास समितिको ५ करोड रुपैयाँमा मेसिन खरिद गरिएको उहाँले बताउनुभयो ।
इस्ट वेस्ट कम्पनी एक्लैले बोलपत्र पाएको एकवर्षपछि उपकरण ल्याएर सञ्चालनमा ल्याईएको हो । अस्पतालको रेडियोलोजी विभागका प्रमुख डा. केशव पौडेलका अनुसार सिमेन्स कम्पनीको थ्री टेस्ला एमआरआई ६४ स्लाईसको मेसिन ल्याईएको हो । विकिरणमुक्त रहने र सिटी स्क्यानभन्दा बढी प्रभावकारी हुने भएकाले रोगको पहिचान र उपचारमा प्रभावकारी हुने उहाँको भनाई छ ।स्वास्थ्य बीमा बोर्डलले तोकेको शुल्कमा नै यहाँ परीक्षण गरिने पौडेलले कान्तिपुर हेल्थलाई बताउनुभयो ।
पौडेलका अनुसार सामान्यतया नौ हजारदेखि १४ हजार रुपैयाँसम्ममा एमआरआईबाट परीक्षण हुनेछ । दैनिक २५ जनासम्मलाई सेवा दिन सकिने उहाँको भनाई छ ।अस्पतालमा दुर्घटना लगायतका बिरामीको एमआरआई गर्नु परेमा वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल वा निजी अस्पताल जानुपर्ने बाध्यता थियो ।
अस्पतालमा दुर्घटनाका धेरै बिरामी आउने गर्दछन् ।अस्पतालमा सिटीस्क्यान, लगायतका उपकरण यस अघि नै ल्याईएको छ भने क्याथल्याब ल्याउने तयारी गरिएको छ । धेरै बिरामी उपचार गर्ने अस्पतालमा यो पर्दछ । यहाँ दैनिक दुई हजार पाँच सय हाराहारी बिरामी बहिरंग विभागमा आउने गर्दछन् ।