काठमाडौँ — लागूपदार्थ सेवन गरी सार्वजनिक सवारी साधन चलाएको भेटिएपछि ६ जना चालक पक्राउ परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र लागू औषध नियन्त्रण व्यूरोको संयुक्त टोलीले नागढुंगाबाट सार्वजनिक बस/ माइक्रो तथा ट्रकका ६ जना चालकलाई पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरी वृत्त थानकोटको जिम्मा लगाएको हो ।उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी विश्वराज खड्काका अनुसार प्रतिबन्धित लागूऔषध सेवन गरी सवारी साधन चलाएको कसुरमा उनीहरुलाई पक्राउ गरिएको हो ।
बागमती प्रदेश ०६–००१ ज ०१ ७२ नम्बरका माइक्रो बसका चालक चितवन भरतपुरका २५ वर्षीय अनिक चौधरी, प्रदेश २–०३ ००१ ख ४५ ६२ नम्बरका ट्रक चालक मकवानपुर हेटौडाका ३० वर्षीय प्रकाश तामाङ, बा १३ च ४८ ५३ नम्बरका पिकअप भ्यानका चालक मकवानपुर थाहा नगरपालिकाका २३ वर्षीय प्रकाश गोले, बा १७ च १७ १४ नम्बरका भ्यान चालक बाँके कोहलपुरका ४२ वर्षीय विनोद चौधरी, ग १ ख १५ ६७ नम्बरका बस चालक तनहुँ म्याग्दी गाउँपालिकाका ३९ वर्षीय कर्णबहादुर गुरुङ र ना ७ ख ०५ २७ नम्बरका भाडा ट्यांकर चालक मकवानपुरको हेटौडाका ४८ वर्षीय रविलाल मानन्धर पक्राउ परेका हुन् ।
उनीहरुमाथि अवैध लागूऔषध सेवनको कसुरमा अनुसन्धान अघि बढेको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन विरुद्ध २०६८ सादलबाटै प्रहरीले देशभर विशेष अभियान चलाउँदै आएकोमा २ वर्ष अघिबाट उपत्यका भित्र लागूऔषध सेवन गर्ने चालकविरुद्ध पनि कारबाही अभियान थालिएको थियो ।यसका लागि ट्राफिक प्रहरीले छुट्टै किटको प्रयोग गरी चालकले लागूऔषध सेवन गरे/नगरेको पत्ता लगाउन प्रहरी अस्पताल र लागूऔषध नियन्त्रण व्यूरोबाट सहयोग लिँदै आएको छ । शुक्रबार पक्राउ परेका यातायातका चालकहरुको पिसाव परीक्षण गर्दा लागूऔषध सेवन गरेको खुलेको हो । उनीहरुले सेवन गर्ने लागूऔषध कुन किसिमको हो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसअघिका विभिन्न परीक्षणबाट चालकले गाँजा र चरेस तथा केहीले हेरोइनसम्म सेवन गर्ने गरेको भेटिएको थियो । नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीले उनीहरूको पिसाव ड्रग्स किट’मा राखेर परीक्षण गर्दा लागूऔषध सेवन गरेको भेटिएको थियो । एसपी खड्काका अनुसार शुक्रबार २५ वटा सबारी साधनका चलकको पिसाव परीक्षण गर्दा ६ जनाले लागूऔषध सेवन गरेको भेटिएको थियो ।