चितवन। भरतपुर अस्पतालले आफ्नो सेवालाई विस्तार गरेको छ । अस्पतालले बिहान ९ देखि दिउँसो ४ बजेसम्म बहिरङ्ग (ओपिडि) सेवा सञ्चालन गर्न लागेको हो ।
आस्पताल प्रशासनले आईतबार एक सूचना प्रकाशित गरी साउन १५ गतेबाट बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म अस्पताल समय कायम गरिएको जनाएको छ । नियमित औषधि खाने स्वास्थ्य बीमाका बिरामीहरुका लागि बिहान ७ बजेदेखि ९ बजेसम्म रिफिल काउन्टरबाट सेवा लिन सकिने सूचनामा उल्लेख छ । यस्तै जिओपिडि सेवा बिहान ८ बदेखि बेलुकी ५ बजेसम्म नियमित सञ्चालन रहने जनाईएको छ ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेल टिकट काटेका बिरामीले समेत परीक्षण गर्न नपाएपछि सेवा विस्तार गरिएको बताउनुहुन्छ । उहाँले भन्नुभयो “हिजो (आईतबार) एक सय जनाभन्दा बढी टिकट काटेका बिरामी फर्किनु प¥यो । त्यसैले, आज अर्थाेपेडिक विभागमा २५० जनाको मात्रै टिकट काट्न भनेको छु ।”
स्वास्थ्य बीमाको नियम अनुसार टिकट काटेको दिनमा मात्रै सो टिकटबाट सेवा लिन सकिन्छ । अर्काे दिन आउँदा नयाँ टिकट लिनुपर्छ । आईतबार बिहानभर लाईन बसेर टिकट काटेका एक सय जनाभन्दा बढी बिरामी फिर्ता भएको पौडेलले बताउनुभयो । उनीहरुले आज परीक्षण गर्न पुनः टिकट काट्नु काट्नु पर्ने बाध्यता छ ।
अर्थाेपेडिकसँगै मेडिकल, सर्जिकल लगायतका विभागमा बिरामीको चाप उस्तै छ । अस्पतालमा मेडिसिन विभागमा मात्रै दैनिक पाँच सयभन्दा बढी बिरामी आउँछन् । कतिपयले टिकट काट्नै पाउँदैनन् भने कतिपयले लामो लाईन बसेर काटेको टिकटबाट उपचार लिन नसकेको प्रमुख प्रा.डा. पौडेलले कान्तिपुर हेल्थलाई बताउनुभयो ।
बहिरंग सेवामा मात्रै होइन, अन्तरङ्ग सेवामा पनि समस्या छ । शल्यक्रियाका लागि बिरामीले लामो पालो कुर्नु पर्ने अवस्था छ । प्रा.डा.पौडेल पत्थरीको शल्यक्रियाका लागि एक वर्ष दुई महिनापछिको पालो दिनुपर्ने अवस्था रहेको बताउनुहुन्छ । शल्यक्रिया गर्दा शरीरभित्र राखिएको स्टिल निकाल्न एक वर्ष पालो कुर्नु परेको छ । आकस्मिक बाहेकका सबै शल्यक्रियाका लागि निकै लामो समय पालो कुर्नुको विकल्प बिरामीलाई नभएको उहाँले बताउनुभयो ।
आईतबार मात्रै अस्पतालमा २ हजार ६५४ बिरामी बहिरङ्ग सेवामा आएका थिए । ती मध्ये एक हजार ७४५ स्वास्थ्य बीमा मार्फत् सेवा लिने बिरामी थिए । यो संख्या कुनै दिन तीन हजार नाघ्ने गरेको पौडेलले जानकारी दिनुभयो ।
अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले बिरामीले टिकट समेत पाउन छोडेपछि बहिरङ्ग सेवाको समय बढाउने गरी विकास समितिले निर्णय गरेको बताउनुभयो । अहिले अस्पतालमा बिहान ९ः३० बजेदेखि ३ बजेसम्म बहिरङ्ग सेवा सञ्चालन हुँदै आएको छ । यसलाई मंगलबारबाट बढाएर बिहान ९ बजेबाट दिउँसो ४ बजेसम्म बनाउने गरी निर्णय गरिएको अध्यक्ष पौडेलले कान्तिपुर हेल्थलाई जानकारी दिनुभयो ।
स्वास्थ्य मन्त्रालयले सरकारी अस्पतालमा दुई सिफ्ट बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन गरेको छ । सोही अनुसार चिकित्सकहरुलाई अप्ठ्यारो नपर्ने गरी काम गर्न लागिएको उहाँले बताउनुभयो ।
चिकित्सकलाई पहिलो सिफट्मा ९ बजेबाट २ बजेसम्म र दोस्रोमा ११ बजेदेखि ४ बजेसम्म सिफ्ट मिलाईएको छ । जस अन्तर्गत पहिलो सिफट्मा ८० प्रतिशत र दोस्रोमा २० प्रतिशत चिकित्सक आउनेछन् । अपुग चिकित्सकका लागि नयाँ नियुक्तिका लागि अस्पतालले सूचना प्रकाशित गरी माग गरेको छ । उहाँले भन्नुभयो “अस्पतालमा आउने बिरामी उपचार नपाएर फर्किनु हुँदैन । अब पुरानो तरिकाले नयाँ परिणाम पाउन सकिंदैन ।”
अस्पताल विकास समितिका तर्फबाट ९० जना र सरकारी स्थायी ४५ जना विशेषज्ञ चिकित्सक अस्पतालमा कार्यरत रहेका छन् । यस्तै मेडिकल अधिकृत ५९ जना र छात्रवृत्ति करारका ३६ जना चिकित्सक रहेका छन् । ४२५ जना नर्स छन् ।
भरतपुर अस्पतालमा चितवन सहित छिमेकी २५ भन्दा बढी जिल्लाबाट बिरामी उपचारका लागि आउने गरेका छन् । यहाँ काठमाण्डौंको प्रसुती गृहपछि सबैभन्दा बढी प्रसुती सेवा दिने गरिएको छ । दैनिक २ हजारदेखि ३ हजार हाराहारी बिरामी बहिरङ्ग सेवामा आउने गरेका छन् ।