प्रहरीको गाडी जब अनियन्त्रित भएर लेकसाइडको चौतारामा ठोक्कियो

प्रत्यक्षदर्शी भन्छन्- प्रहरीले नै मापसे गरेकाजस्ता देखिन्थे, रातारात क्रेन बोलाएर गाडी लगियो Iसोमबार बिहान करिब एक बजेतिर पोखरा–६ लेकसाइडको शान्तिपाटन चोकमा प्रहरीको गाडी हुत्तिएर आयो।कुनै गम्भीर अपराधको घटना भए जसरी आएको गाडी अचानक चोकमा रहेको एउटा सानो चौतारोमा ठोक्कियो। चौतारीमा ठोक्किएर प्रहरीको गाडी त कच्याककुचुक भयो नै, सिमेन्टेड पक्की चौतारो पनि भत्कियो।प्रहरीको गाडीको स्पिड देखेर स्थानीय विष्णु श्रेष्ठ आत्तिएका थिए। चौतारीमा गाडी ठोक्किएपछि अरु स्थानीय पनि बाहिर निस्किए। गाडीको स्पिड र गाडीमा सवार प्रहरीलाई देखेर उनीहरु दंग परे।‘चौतारी भएकै कारण हाम्रो ज्यान जोगियो। चौतारी हुन्थेन भने गाडी हाम्रो घरमा ठोक्किन्थ्यो,’ घटना प्रत्यक्ष देखेका श्रेष्ठले भने, ‘करिब ४० मिटर परबाट ब्रेक लगाएको डोब अहिले पनि देखिन्छ। कति स्पिडमा थियो होला गाडी।’

गाडीका चालक र गाडीमा सवार प्रहरीले मद्यपान गरेको हुन सक्ने प्रत्यक्षदर्शीको अनुमान छ। उनीहरुका अनुसार गाडी ठोक्किएपछि ओर्लिएका प्रहरी सामान्य अवस्थामा थिएनन्। मादक पदार्थ सेवन गरेकोजस्तो देखिएको श्रेष्ठले बताए।‘यहाँ मैले मात्र होइन ३०/३५ जनाले देखेका थियौं। प्रहरीले नै मापसे गरेर गाडी चलाएको जस्तो देखिन्छ,’ उनले सेतोपाटीलाई भने।प्रहरीको गाडी चौतारीमा ठोक्किएर दुर्घटना भएपछि तत्काल केही प्रहरीको गाडी आए। चौतारीमा ठोक्किएका गाडी प्रहरीले छेके। अनि दुर्घटनाग्रस्त गाडीमा सवार प्रहरीलाई लिएर गएको श्रेष्ठले बताए।मध्यरातमा दुर्घटना भएको प्रहरीको गाडी लैजान बिहान उज्यालो हुने बेलासम्म पनि कुरिएन। प्रहरीले रातारात क्रेन बोलाएर वडा प्रहरी कार्यालय बैदाम लगेको स्थानीयले बताएका छन्।ग १ झ ५५१ नम्बरको उक्त गाडी पनि वडा प्रहरी कार्यालय बैदामकै रहेको कार्यालय प्रमुख डिएसपी राजेन्द्र श्रेष्ठले बताए।वडा प्रहरी कार्यालय बैदामले पोखराको लेकसाइडसहित मुख्य शहरी क्षेत्रको शान्ति सुरक्षाको जिम्मा पाएको छ। प्रहरीकै गाडीबाट असुरक्षित महशुष गर्नुपरेको स्थानीयले गुनासो गरेका छन्। घटनाको सत्यतथ्य छानबिन गर्न पनि उनीहरुको माग छ।प्रहरीको गाडीले भत्काएको चौतारी ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) गण्डकीले ४ बर्षअघि बनाएको हो। आफ्नो कार्यालय अगाडिको चोकमा चौतारी बनाएर टानले रुख हुर्काइरहेको थियो।

सर्वसाधारणले मादक पदार्थ सेवन गरे कारबाही गर्ने जिम्मेवारी पाएका प्रहरीले नै मादक पदार्थ सेवन गरेर चलाएको गाडीले ठक्कर दिएर चौतारी भत्काएको टान गण्डकीको आरोप छ। प्रहरीले नै मापसे गरेर गाडी चलाउँदा असुरक्षित महसुस गरेको टान गण्डकीका वरिष्ठ उपाध्यक्ष कृष्ण आचार्यले बताए।‘सर्वसाधारण जनताका लागि सुरक्षा प्रदान गर्ने प्रहरी प्रशासन नै मापसे सेवन गरी सवारी हाँक्दा हामी सर्वसाधारणले असुरक्षित महसुस गरेका छौं,’ उनले भने, ‘हामीले बनाएको चौतारी मर्मत सम्भार गर्न पनि सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँछौं।’मध्यरातमा घटना भएपछि स्थानीय प्रत्यक्षदर्शी वडाका जनप्रतिनिधी वडा प्रहरी कार्यालय बैदाम पुगेका थिए। उनीहरुले सोधपुछ गर्दा चालकले मापसे नगरेको डिएसपी श्रेष्ठले बताएका थिए।बैदामबाट सोमबार नै सरुवा भएको काठमाडौं जान लागेका डिएसपी श्रेष्ठले गस्ती गएर फर्कदा दुर्घटना भएको दाबी गरे। दुर्घटनापछि नजिकैको मेडिकल लगेर चालकको मापसे परिक्षण गर्दा मापसे नदेखिएको पनि उनले दाबी गरे।

‘गस्ती गरेर फर्किदा बाटोमा कुकुरले छक्यायो भनेको छ। मेडिकल परिक्षण गर्दा चालकले मापसे गरेको देखिएन,’ उनले भने, ‘खानेपानी ल्याउने भनेर जार पनि लिएर गएका रहेछन्। यहाँको पानी राम्रो छैन।’घटनाका विषयमा आफुले बुझिरहेको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले बताए। मापसे परिक्षण गर्दा नदेखिएको रिपोर्ट आफुलाई आएको भन्दै उनले दुर्घटनाका बारेमा सोधपुछ भइरहेको बताए।‘दुर्घटनाको बारमा अहिले केही थाहा छैन,’ उनले भने, ड्राइभरले मापसे गरेको देखिएन भनेको छ, मैले सोधपुछ गर्न लगाएको छु।’

सेयर गर्नुहोस्