सोलुखुम्बु । साउन ३२
सोलुखुम्बुको खुम्बु क्षेत्रमा भोटेकोशी नदीमा आएको बाढीले बगाएर एक जना बेपत्ता भएका छन् भने एक दर्जनभन्दा बढी घर बगेका छन् । बेपत्ता भनिएका व्यक्तिको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामे भन्ने ठाउँमा अचानक बाढी आएको थियो।
गाउँपालिकाको वडा नं ५ मा पर्ने थामेमा बाढीले एउटा विद्यालयको छात्रावास, पाँचवटा होटल र सातवटा घरसहित १४ वटा भवन पूर्ण रूपमा बगाएको गाउँपालिकाका प्रवक्ता ल्हाक्पा छिरी शेर्पाले विज्ञप्तिमार्फत् जनाएका छन्।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत्प्रसाद भुसालले बीबीसीलाई बताएअनुसार बाढीका कारण मानवीय क्षति भएकोबारे अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन।
यद्यपि थामे आधारभूत विद्यालय भवनभित्र एकजना फसेका जानकारी आएको भुसालले बताए।
अचानक बाढी आएपछि गाउँपालिकाले दूधकोशी नदीको तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन अनुरोध गरेको छ।
वर्षातविना नै कोशीमा आएको बाढीको कारण बारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए । थामेभन्दा माथिको हिमताल फुटेर कोशीमा बाढी आएको हुनसक्ने स्थानीयको अनुमान छ ।