ओलीलाई प्रचण्डले भने- यती, ओम्नी र गिरीबन्धुका पुराना सुमधुर सम्झनाबाट ब्युँझिए हुन्छ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यती, ओम्नी र गिरीबन्धुका पुराना सुमधुर सम्झनाबाट ब्युँझिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै अध्यक्ष प्रचण्डले अब माफियाभन्दा जनता बलियो भइसकेकाले यती, ओम्नी र गिरीबन्धुका पुराना सुमधुर सम्झनाबाट ब्युँझिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका हुन् ।

‘बिजुलीको आठ अर्ब बक्यौतामा समस्या भएर रोस्ट्रममा उभिएका प्रधानमन्त्री अब फेसबुकबाटै भए पनि २२ अर्ब भन्न थाल्नुभएको छ । विद्युत् प्राधिकरणको केसले भन्छ भने अब माफियाभन्दा जनता बलियो भइसकेका छन् । त्यसैले अब यती, ओम्नी र गिरीबन्धुका पुराना सुमधुर सम्झनाबाट ब्युँझिए हुन्छ । प्रतिपक्ष प्रतिबद्ध छ र जनता जागृत छ । अब सच्चिनु र सुध्रिनुमै सबैको भलो छ,’ उनले भने ।

अध्यक्ष प्रचण्डले आफ्नो खबरदारीलाई कर्मकाण्ड नसम्झन पनि आग्रह गरे । ‘सरकारलाई मेरो विनम्र आग्रह छ, यो खबरदारीलाई कर्मकाण्ड नसम्झनुहोला । यही खबरदारी हामी सडकमा पनि गर्दैछौँ ।  सरकारका प्राथमिकताहरू विवेक होइन, अहङ्कार, इगो र स्वार्थसमूहको प्रभावले तय भइरहेका छन्, जनतासँग क्षमायाचनासहित सच्याउनोस्,’ उनले भने ।

अध्यक्ष प्रचण्डले सरकारले गर्न खोजेका अनुचित काम रोक्न पनि प्रधानमन्त्री ओलीलाई आग्रह गरे । ‘विद्युत् प्राधिकरणमा जे गर्न खोज्नुभयो र जे गर्दै हुनुहुन्छ, भुटानी शरणार्थी काण्डलाई जता पुर्‍याउन र इमानदार प्रहरीलाई जसरी दण्डित गर्न खोज्दै हुनुहुन्छ, त्यो नगर्नोस्,’ उनले भने, ‘गिरीबन्धुलगायतका नीतिगत भ्रष्टाचारहरूमा रफु भर्दै हुनुहुन्छ, सुध्रिनोस् । हिजो आफैँ प्रधानमन्त्री हुँदा बनाएका वैदेशिक श्रमका मापदण्ड मानव तस्करका लागि उल्ट्याउँदै हुनुहुन्छ, त्यता नलाग्नोस् । अझै पनि सुध्रिनोस् र सच्चिनोस् ।’

अध्यक्ष प्रचण्डले आफू बस्न नपाएपछि कुर्सी नै भाँच्ने, प्रणाली  नै भत्काउने शैली र चरित्र माओवादी केन्द्रको नभएको बताए । ‘हामी रचनात्मक र सिर्जनात्मक प्रतिपक्ष बन्नेछौँ । संसदमा जनताको आवाज बन्नेछौँ । आफू बस्न नपाएपछि कुर्सी नै भाँच्ने, प्रणाली नै भत्काउने शैली र चरित्र हाम्रो होइन,’ उनले भने ।

सेयर गर्नुहोस्