‘एक्लो’मा कल्की बन्दै प्रदीप, पोस्टरमा यस्तो अवतार

गत असारमा आएको दक्षिण भारतीय फिल्म ‘कल्की’ले बक्स अफिसमा ठूलो कमाई गर्‍यो । नेपालमा समेत सुपरहिट भएको थियो । अब यही नाम अर्थात् कल्की बनेर नेपालका सुपरस्टार प्रदीप खड्का फिल्म ‘एक्लो’मा देखिने भएका छन् । बुधबार सार्वजनिक गरिएको एउटा क्यारेक्टर पोस्टरमा प्रदीपलाई कल्कीको रुपमा चित्रण गरिएको छ । उनको गेटअपले योद्धा चरित्रको संकेत गर्छ ।

कल्की भगवान् विष्णुको दशौँ अवतार हो । पुराणकथाका अनुसार कलियुगमा पापको सीमा नाघेपछि दुष्टहरूको संहार गर्न कल्की अवतार प्रकट हुन्छ । कल्की अवतार कलियुगको अन्तिम अवस्थामा हुन्छ । यसले पनि ‘एक्लो’मा प्रदीपले निभाउन लागेको चरित्र कस्तो हो भन्ने धेरै हदसम्म बुझाउँछ । सार्वजनिक पोस्टरमा उनी मुख छोपेर आगोको ज्वालामा तरबार लिएर प्रस्तुत भएका छन् ।

फिल्मको बुधबार बिहान काठमाडौंको भद्रकाली मन्दिरमा मुहूर्त समेत गरिएको छ । छायांकन भने बिहीबारबाट सुरु हुने निर्देशक प्रदीप शाहीले जानकारी दिए । उनले यसअघि ‘गोर्खाः विनिथ द ब्रेभरी’ र ‘अन्तिम संस्कार’ गरी दुई फिल्मको निर्देशन गरेका थिए । फिल्ममा अभिनय गर्न बेलायती अभिनेता जेमी बेकन समेत काठमाडौंमा आइसकेका छन् । उनी मंगलबार नेपाल आएका हुन् ।

‘एक्लो’मा प्रदीप र जेमीका साथै बेनिशा हमाल, सुरज सिंह ठकुरी, सुनिल थापा, विजय लामा, दीया पुन, कविता नेपाली, एवनराज उप्रेती लगायतको पनि अभिनय रहनेछ । सन् २०२५ मा रिलिज लक्ष्य राखिएको फिल्मका कार्यकारी निर्माता क्षितिज सुवेदी खत्री हुन् । फिल्मका लागि नेपालमै अन्तरिक्ष ‘रकेट सुट’को निर्माण गरिएको छ । फिल्म बजेट लगभग ५ करोड अनुमान गरिएको छ ।

यो फिल्मले सन् २०३० सम्म एक घातक भाइरल महामारीका कारण मानिसले पृथ्वी ग्रह छोड्न बाध्य भएको कथा भन्नेछ । त्यसको ६० वर्षपछि ब्रिटिस अन्तरिक्ष यात्री (बेकन) आफ्नो टोलीसहित हिमालय क्षेत्रमा ल्यान्डिङ गर्छन् । र, पहाडहरुबीचको एक गुफामा लुकेको शहर पत्ता लगाउँछन्, जहाँ तिनीहरुले रहस्यमय व्यक्ति (प्रदीप)लाई भेट्छन्, जो हिमालय क्षेत्रको पौराणिक संरक्षक हो ।

सेयर गर्नुहोस्