चितवनमा पशुको गोठमै पुगेर बाँझोपनको निःशुल्क परीक्षण

चितवन, गाईवस्तुमा बाँझोपनको समस्या भएपछि यसको समाधान गर्न जिल्लामा पशु प्राविधिकले किसानको गोठमै पुगेर परीक्षण एवं उपचार थालेका छन् ।पशु सेवा कार्यालयको प्राविधक सहयोग र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घको समन्वयमा गाई भैंसीमा हुने बाँझोपनको परीक्षण तथा उपचार थालिएको हो । पशु सेवा कार्यालय चितवनका सूचना अधिकारी डा बब्लु ठाकुरका अनुसार किसानको गोठमै पुगेर अल्ट्रासाउण्ड (भिडियो एक्सरे) गरेर गाईवस्तुको गर्भजाँच परीक्षण तथा उपचार थालिएको छ ।

पशुको बाँझोपन निवारणका लागि यो कार्य थालिएको उहाँले बताउनुभयो । यसरी परीक्षण गर्दा किसानलाई पशुमा गर्भ छ वा छैन भन्ने पत्ता लगाउन महिनौँ कुर्न नपर्ने र बाँझोपन भएका पशुको उपचारमा सहज हुने उहाँले बताउनुसभयो । उहाँले तीनपटकभन्दा बढी कृत्रिम गर्भाधान गर्दा पनि गर्भ नरहेका गाईमा यो परीक्षण गरिँदै आएको बताउनुभयो ।

रत्ननगरबाट बुधबारदेखि गाईमा हुने बाँझोपनको परीक्षण सुरु गरिएको र आज कालिका नगरपालिकामा परीक्षण गरिएको जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले जानकारी दिनुभयो । पशु सेवा कार्यालयका प्राविधिकसहितको टोली र दुग्ध उत्पादक सहकारीका प्रतिनिधि संयुक्त रूपमा किसानका गोठमै पुगेर परीक्षण तथा उपचार गरिँदै आएको उहाँले बताउनुभयो ।

जिल्लाका सातवटै पालिकामा पुगेर गाईवस्तुको बाँझोपन परीक्षण गरिने उहाँले जानकारी दिनुभयो । दुग्ध सहकारीमार्फत किसानका गाई छनोट हुने र सोहीअनुसार परीक्षण हुँदै आएको उहाँले बताउनुभयो । उहाँले जिल्लाभरि १० दिनमा झण्डै तीन सय हाराहारी गाईमा परीक्षण तथा उपचार गरिने बताउनुभयो । बाँझोपनको समस्या देखिएका गाईको भिडियो एक्सरे प्रविधिबाट जाँच भएको र गोठमा पुगेर निःशुल्क जाँच र औषधि उपचार पाउँदा किसान खुसी भएको अध्यक्ष्य बगालेले बताउनुभयो ।

पशु सेवा कार्यालयका प्रमुख सुशील केसीले जिल्लाका दुग्ध सहकारीले सङ्कलन गरेका बाँझोपन भएका गाईको तत्थ्याङ्कका आधारमा कार्यालयबाट प्राविधिकसहितको टोली गोठमै गएर बाँझोपनको निःशुल्क परीक्षण तथा उपचार गरिँदै आएको बताउनुभयो । बाँझोपन भएका गाईको परीक्षण गरी के कारणले भएको हो भन्ने पत्ता लगाएर उपचार प्रक्रिया अगाडि बढाउँदै आइएको र अन्य थप औषधोपचार गर्नुपर्ने भए किसानसँग सल्लाह गरी प्रक्रिया अगाडि बढाइने गरेको उहाँले बताउनुभयो ।

यो अभियान १० दिनसम्म लगातार गरिने र त्यसपछि महिनाको प्रत्येक शनिबार सहकारीमार्फत समन्य गरेर परीक्षण गरिने उहाँले जानकारी दिनुभयो । जिल्लामा व्यावसायिक रूपमा पालिएका उन्नत जातको गाईलाई कृत्रिम गर्भाधान गरिँदै आइएको छ । प्रमुख केसीले पशुमा विभिन्न किसिमका यौनजन्य रोग तथा दानापानी नमिल्दा बाँझोपनको समस्या आउने जानकारी दिनुभयो । उन्नत पशुमा बढी बाँझोपनको समस्या देखिने भएकाले नियमित पशुको गोबर परीक्षण गरी जुकाको औषधि खुवाउने, आहारा तथा दानामा ध्यान दिनुपर्ने उहाँको भनाइ छ । कार्यालयका अनुसार जिल्लामा एक लाख हाराहारीमा गाई पालिएको छ ।

सेयर गर्नुहोस्