काठमाडौं : अमेरिकाको टेक्सास राज्यस्थित ह्युष्टनमा हत्या गरिएकी नेपाली विद्यार्थी मुना पाण्डेलाई लुटपाटको क्रममा हत्या भएको सार्वजनिक भएको छ । लुटपाट उद्देश्यले आएका बबी सिंह शाहले मुनाको गोली हानि हत्या गरिएको सार्वजनिक भएको हो । नियतवश घातक हतियाले प्रहार गरिएको अदालती कागजातबाट खुलेको छ । बुधवार पक्राउ परेका आरोपी ५१ वर्षका बबीको बयानको आधारमा यस्तो खुलासा भएको समाचार एजेन्सीहरूले जनाएका छन् । उनी पटके अपराधी भएको र पटक पटक जेल परेको पनि खुलेको छ ।
मुना पाण्डे सोमबार साँझ गोली लागेको अवस्थामा अपार्टमेन्टमा भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो । सोमबार बेलुका ५ बजेर ३५ मिनेटमा प्रहरी घटनास्थलमा पुग्दा उनलाई मृत अवस्थामा फेला पारेको थियो । उनी परिवारमा एकमात्र सन्तान हुन् । उनको शनिबारदेखि नै फोन अफ रहेकाले घटना शनिबार नै भएको हुनसक्ने आशंका गरिएको छ । तर घटना कहिले र कसरी भएको हो भन्नेबारे अझै पुष्ट विवरण प्राप्त भएको छैन । घटनाको उद्देश्य के थियो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।