सगरमाथा जोगाउने शेर्पाहरू हुन्ः मन्त्री पाण्डे

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हिमाल जोगाउने बीरहरू भनेका शेर्पा समुदाय भएको उद्घोष गरेका छन् । नेपाल  पर्वतीय प्रतिष्ठानद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले विश्वमा वीर गोर्खाली भनेर चिनिए जस्तै सगरमाथालाई चिनाउने वीरहरू शेर्पा भएको बताए । मन्त्री पाण्डेले भने, ‘प्रत्येक समाज र देशको आ–आफ्नै संस्कृति छ । वीर गोर्खाली र हाम्रीले गौरव गर्ने हिमाल चढ्ने र चढाउने हिमाली शेर्पाहरू हुन् । शेर्पाहरूले नै हिमाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनु भएको छ ।’

मन्त्री पाण्डेले माउन्टेन एकेडेमीलाई अन्तर्राष्ट्रिय शैक्षिक हबका रूपमा अघि बढाउनु पर्ने समेत बताए । अब यसलाई अन्तर्राष्ट्रिय विश्वविद्यालय बनाउनु पर्छ । सोलुखुम्बु र त्यस क्षेत्र वरपरका मात्रै होईन, संसारभरका विद्यार्थीहरू पढ्ने गरि दायरा विस्तार हुने विश्वास व्यक्त गरे । मन्त्री पाण्डेले नाथम र माउन्टेन एकेडेमीलाई मर्ज नगरिने समेत विश्वास व्यक्त गरे ।

कार्यक्रममा पूर्वमन्त्री बलबहादुर केसी, पूर्वमन्त्री शंकरप्रसाद कोईराला, प्रतिष्ठाका पूर्वअध्यक्ष शंकरप्रसाद पाण्डे, प्रतिष्ठानका पूर्वअध्यक्ष प्रेमकुमार श्रेष्ठ, सन्तोष थापा मगर, लाप्पाफुटी शेर्पा सम्मानित भएका थिए ।साथै कार्यक्रममा माउन्टेन एकेडेमीका विद्यार्थीहरूले अनुसन्धान गरेको जर्नल र भ्वाइस अफ हिमालको बिमोचन समेत गरिएको थियो ।

सेयर गर्नुहोस्