काठमाडौँ , भदौ १५ ।
नेपाल राष्ट्रिय शिक्षक संगठन ललितपुरले फरक शैलीको तीज कार्यक्रम सम्पन्न गरेको छ। यही भदौ १५ गते ललितपुरको प्रभात माध्यमिक विद्यालयमा आयोजना गरिएको तीज कार्यक्रममा ललितपुर जिल्लाभरिका पालिकाका शिक्षिकाहरुलाई मौलिक तीज गीत प्रतियोगिता आयोजना गरिएको थियो।
जिल्ला भरिका पालिकाहरुबाट आठवटा टिम प्रतिस्पर्धामा समावेश भएका थिए। समावेश भएका टिमहरु मध्ये ललितपुर महानगरपालिकाको टिम प्रथम भएको थियो। यसैगरी महालक्ष्मी नगरपालिकाको टिम दोस्रो र ललितपुर महानगरपालिकाकै टिम तेस्रो स्थान हासिल गर्न सफल भएका थिए।
कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठनका राष्ट्रिय उपाध्यक्ष कमला थापाले नगद पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभएको थियो। कार्यक्रममा केन्द्रीय शिक्षक नेता सुरेन्द्र घिमिरे रमा परिवार तथा जिल्लाका अध्यक्ष देवी दुलाल लगायत जिल्ला भरिका शिक्षकहरूको उपस्थिति रहेको थियो। कार्यक्रम बिल्कुलै फरक र मौलिक भएको कुरा तीज कार्यक्रमकी संयोजक रमला पौडेलले बताउनुभयो।