काठमाडौँ , भदौ १५।
स्वास्थ्यका लागि पदयात्रा भन्ने नाराका साथ नेकपा एमाले पाँचथर काठमाडौँ सम्पर्क मञ्चले आज बृहत पदयात्रा कार्यक्रम सम्पन्न गरेको छ।
नेकपा एमाले केन्द्रीय कमिटी सचिव योगेश भट्टराईको प्रमुख आतिथ्यतामा काठमाडौँको बुढानीलकण्ठबाट बिहान सुरु गरिएको पदयात्रा पानीमुहान हुँदै नागी गुम्बासम्म पुगेको थियो। नागी गुम्बाबाट जङ्गलको दृश्य अवलोकन गर्दै तारे भिर र त्यसपछि बुढानिलकण्ठ मन्दिर सम्म पदयात्रा सञ्चालन गरिएको थियो ।
बिहान ७ बजेबाट सुरु गरिएको पदयात्रामा बोल्दै नेकपा एमालेका सचिव योगेश भट्टराईले पदयात्राले हामीमा कुनै पनि काम गर्ने आत्मबल बढाउने र हाम्रो समाजमा एकता कायम गर्ने कुरा बताउनुभयो।
साथै उहाँले स्वास्थ्य हुनका लागि हामीले पदयात्रा निरन्तर गरिरहनुपर्ने कुरा पनि बताउनुभयो। कार्यक्रममा एमालेका केन्द्रीय सदस्य अइन्द्र सुन्दर नेम्वाङ्ग ,पार्टी केन्द्रीय निर्वाचन आयोगका सदस्य कृष्ण आङ्ग्देम्बे लगायत नेताहरुको उपस्थिति रहेको थियो।
साँझ ४ बजे सम्पन्न गरिएको पदयात्रा कार्यक्रममा १०२ जना सहभागी भएको कुरा मञ्चका अध्यक्ष दिनेश खतिवडाले बताउनुभयो।