काठमाडौँ । अभिनेत्री आँचल शर्मा फिल्म ‘पीताम्बर’बाट अलग भएकी छन् । फिल्मको छायाङ्कन सेडुल जुधेको कारण आफूले अभिनय गर्न नभ्याउने भन्दै उनले फिल्म छोडेकी हुन् ।
आँचल अहिले फिल्म ‘दुःखी आत्मा’को छायाङ्कनमा छिन् । फिल्म ‘पीताम्बर’ अहिले छायाङ्कनमा छ । एकै समय दुई फिल्मको छायाङ्कन सम्भव नभएकोले ‘पीताम्बर’बाट आफू अलग भएको आँचलले बताइन् ।‘पहिले फिल्मको छायाङ्कन एकै समय हुने कुरो थिएन । त्यसैले जोडिएको थिए’, आँचलले भनिन् ‘कुनै पनि युनिटलाई अप्ठ्यारो नहोस् भनेर ‘पीताम्बर’ छोडेकी हुँ ।’
‘पीताम्बर’बाट आँचल बाहिरिएपछि उनको ठाउँमा अभिनेत्री दिव्या रायमाझी भित्रिने चर्चा छ । दिव्याको जोडी अभिनेता प्रदीप खड्कासँग बाँधिने बताइन्छ ।
दीब्या अभिनेता दिलीप रायमाझीकी छोरी हुन् । दिव्याले फिल्म ‘एक्टर’बाट अभिनयमा डेब्यु गरेकी हुन् । ‘पीताम्बर’ले आगामी कात्तिक १५ (लक्ष्मीपूजा) प्रदर्शन मितिको रूपमा सार्वजनिक गरेको छ ।आँचल ‘दुःखी आत्मा’पछि फिल्म ‘जेरी अन टप’को छायाङ्कनमा जुट्नेछिन् ।