काठमाडौं – प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गणतान्त्रिक शासन व्यवस्था, समृद्धि, शान्ति र सुशासनको मार्गमा मुलुक अग्रसर भइरहेका बेला यसलाई असफल पार्ने दुष्प्रयास भइरहेकाले निर्णायक राष्ट्रिय शक्ति निर्माणमा कटिबद्ध हुन पार्टीका सबै तहका नेता तथा कार्यकर्तासँग आग्रह गरेका छन्।
नेकपा (एमाले) केन्द्रीय कार्यालयको आयोजना र जनसंगठन समन्वय संयन्त्रको व्यवस्थापनमा भएको ‘स्थानीय तहमा जनसंगठन सुदृढीकरण’ विषयको राष्ट्रिय कार्यशालाको शनिबार उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले परिवर्तनको सारथि एमालेलाई कसरी कमजोर पार्ने भन्नेमा केही तत्व लागेका टिप्पणी गरे ।
आगामी निर्वाचनमा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन आग्रह गर्दै उनले नेकपा (माओवादी केन्द्र) को मत घट्दो रहेको र आउँदो निर्वाचनमा चार पाँच लाखसम्ममा झर्ने अनुमान गरे । अध्यक्ष ओलीले कार्यशालाबाट पार्टीका नीतिलाई अझ स्पष्ट र योजनालाई गतिशील बनाउँदै समस्याको खोजी र निदान हुने बताए।त्यस अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री तथा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, पार्टीका उपमहासचिव विष्णु रिमाल, जनसंगठन संयन्त्रका संयोजक भानुभक्त ढकाललगायत नेता सहभागी छन् ।