पूर्वमुख्यमन्त्री राईले दिए प्रकाश तामाङलाई ३ आना जग्गा

विराटनगर- नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले प्रकाश तामाङलाई जग्गा उपलब्ध गराएका छन्।

पूर्व मुख्यमन्त्री राईले शुक्रबार भोजपुरस्थित षडानन्द नगरपालिकामा तामाङलाई पाँच रोपनी ३ आना जग्गा उपलब्ध गराएका हुन्। परिवारको सम्पर्कबाट करिब ३५ वर्ष बाहिर रहेका तामाङ गत महिना घर फर्किएपछि चर्चामा आएका हुन्। 

नागरिकतासमेत बनाउन नपाएका तामाङले आफ्नै पुर्ख्यौली थलोमा कृषि पेशामा आवद्ध हुने इच्छा व्यक्त गर्दै आएका थिए।  तामाङलाई करिब १ महिना अघि पूर्वमुख्यमन्त्री राईले एक लाख रुपैयाँ दिदैँ आवश्यकता अनुरूप सहयोग गर्ने विश्वास दिलाएका थिए। सो भेटमा तामाङले आफ्नै बुवा आमासँग बसेर कृषि गर्ने बताएका तामाङले राई दम्पतीसँग कृषि गरि जीवन चलाउन सहयोग मागेका थिए। 

पूर्व मुख्यमन्त्री राई पत्नी जाङमु इन शेर्पाको पहलमा तामाङलाई मालपोत कार्यालय भोजपुरमा सो जमिन लिखित पास गरिएको छ। राई पत्नी शेर्पाको नाम रहेको सो जमिन पास गरेपछि राई दम्पतीले तामाङलाई लालपुर्जासँगै एक थान हाते ट्याक्टर र एक हल गोरु उपलब्ध गराएकी थिइन्। 

सो क्रममा राईले आफूले सकेको सहयोग गरेको बताउँदै सारा युवा विदेश पलायन भइरहेको बेला आफ्नै भूमिमा केही गर्ने सोच राख्नु सकारात्मक भएको बताएका थिए। सामाग्री हस्तान्तरण गर्दै शेर्पाले आफू सामाजिक कार्यमा सक्रिय रहेका जनाउँदै उपलब्ध गरेका सामाग्रीले सदुपयोग भए प्रकाश र उनको परिवारमा आर्थिक अवस्थामा परिवर्तन हुनसक्ने विश्वास लिएको बताइन्। 

जमिन र अन्य सामाग्री पाएपछि हर्षित देखिएका प्रकाश तामाङले आफूले खेतीपाती गर्ने र वृद्ध बुबाआमालाई पाल्ने बताएका थिए। जग्गा प्रदान गर्ने क्रममा षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्र उदास, व्यवसायी भूपाल राई लगायतको उपस्थिति  रहेको थियो।

सेयर गर्नुहोस्