तडकभडक नगरी चाडवाड मनाऔँ: महामन्त्री शर्मा

काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तिहार, छठ लगायतका चाडपर्वहरु तडकभडक नगरी मनाउन आग्रह गरेका छन् । उनले दशैँ, तिहार, छठ, नेपाल संवत, उँधौली पर्व लगायतमा तडकभडक, फजुल खर्च बढी हुने गरेको भन्दै शान्त, संयम र आत्मीयताका साथ मनाउन आह्वान गरेका हुन् ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै महामन्त्री शर्माले दसैँ पर्व शुरु हुनुपूर्वको विपदबाट नेपालले ठूलो जनधनको क्षति व्यहोरेको भन्दै मृत आत्माको चीर शान्तिको कामना समेत गरे । शर्माले विपदमा परी घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै मृतक परिवारजनमा समवेदना समेत प्रकट गरे ।

उनले शान्त र संयमसँग सामान्य चाडपर्वहरु मनउनुपर्ने समेत बताए । दीपावलीको दीपसँगै सबैको मनमा सकारात्मक सोचको भावको दीप जल्नुपर्ने बताए ।

शर्माले भने, ‘दसैँ पर्व मनाउन सुरु गर्नुभन्दा दुई साता जति अघि मात्रै हामीले २ सयभन्दा बढी आफन्तहरुलाई गुमायौँ, बाढी र पहिरोको चपेटामा परेर । दसैँ मनाउँदै गर्दा हामीले शुभकामना आदानप्रदान त गर्यौँ । तर सँगै दिवंगत आत्माको शान्तिको कामना पनि गर्यौँ ।

ती परिवारजनलाई यो बेला पनि सम्झौँ । जब तिहार मनाउने तयारी हामी गर्दैछौँ । शान्त र संयमसँग सामान्य रुपमा तिहार मनाऔँ । तडकभडक नगरीकन, फजुल खर्च नगरीकन चाडपर्व मनाऔँ । ती सबैको आत्माको शान्तिको कामना गर्दै हामी यी पर्वहरु मनाऔँ ।’

सेयर गर्नुहोस्