विवादै विवादबीच अनमोलको जेरी अन टप’ सुरु

काठमाडौं ।

निर्माण अघि नै थुप्रै विवाद झैल्दै आएको अनमोल केसीको चलचित्र ‘जेरी अन टप’को सोमबारबाट छायाँकन सुरु गरिएको छ । ललितपुरको बँगलमुखी मन्दिरमा बिहिबार बिहान मुहुर्त गर्दै यो चलचित्रको छायाँकन थालिएको छ । यो चलचित्रको ४५ दिनमा छायाँकन सक्ने लक्ष्य रहेको यसका निर्देशक सुयोग गुरुङले बताएका छन् ।

यो चलचित्रलाई सुरुमा हेमराज बिसीले निर्देशन गर्ने भनेका थिए । उनी अमेरिका भासिएपछि यसको निर्देशक परिवर्तन भएर सुयोग अनुबन्धित भएका हुन् । जेरीको सिक्वेलको रुपमा निर्माणको घोषणा गरिए पनि निर्देशक परिवर्तन भएपछि यो चलचित्रको कथा र कलाकार पनि परिवर्तन गरियो । चलचित्रमा निर्देशक सुयोगले आना शर्मालाई हटाएर उनको ठाउँमा जसिता गुरुङले अनुबन्धित गरेका हुन् । यसरी नायिका परिवर्तन गर्दा पनि निर्माण टिमले विवाद खेप्नु प¥यो ।

चलचित्रको विवाद यतिमा मात्रै सिमित रहेन । यसपछि जेरीका निर्माता मनोज शेरचनले आफ्नो अनुमति बिना चलचित्र जेरी अन टप बनाउन लागिएको भन्दै प्रतिलिपि अधिकारमा उजुरी दिए । सो उजुरी पछि यो चलचित्रका निर्माता सरोज न्यौपाने र रोहित अधिकारीले जेरीका निर्मातालाई पनि जेरी अन टपमा लगानीकर्ताको रुपमा समेटे । यसरी शेरचन पनि चलचित्रमा जोडिएपछि यो चलचित्रको बल्ल छायाँकन सुरु भएको हो ।

यो चलचित्रमा अनमोल केसीसँगै जसिता गुरुङ, आँचल शर्मा, केदार घिमिरे ‘माग्ने बूढा’, भुवन केसी, विपना थापालगायतको शिर्ष भूमिका रहने छ । यो चलचित्रमा अनमोल केसीको वुवाको भूमिकामा भुवन केसी र आमाको भूमिकामा विपना थापा रहने छन् । चलचित्र विकाश बोर्डको अध्यक्षको दुई वर्षको कार्यकाल सकेपछि यही चलचित्रबाट भुवन केसी अभिनयमा फर्कन लागेका हुन् ।

एक महिना भन्दा लामो अभिनय कार्यशाला सम्पन्न गरेर आफुहरु छायाँकनमा उत्रिएको यसका निर्देशक गुरुङले बताएका छन् । यो चलचित्रको काठमाडौंसँगै, लुक्ला र भारतको लद्दाखमा पनि छायांकन गरिने उनले मुहुर्त समारोहमा जानकारी गराए ।

सेयर गर्नुहोस्