चितवन, पुस २४-
नेपाल मगर साँस्कृतिक संघ चितवनको आयोजनामा भरतपुरमा मौलिक कौराहा (कानराहा) प्रतियोगिता हुने भएको छ । संघले बुधबार (आज) पत्रकार सम्मेलन गरेर पुस २७ गते खुल्ला कौराहा प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो ।
प्रतियोगिता वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको हलमा हुने छ । प्रतियोगितामा १० भन्दा बढी समूहको सहभागिता रहने आयोजकको अपेक्षा छ । अहिलेसम्म ८ समूहले भाग लिइसकेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागि हुन चाहाने समूहको लागि दर्ता शुल्क पाँच हजार तोकिएको छ । मुल्यांकनमा मौलिक भेषभूषा, गायन, शब्द चयन, बाध्यबादन र नृत्यलगायतका विषयलाई ध्यानमा राखिनेछ । निर्णाकमण्डलमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका संस्थापक अध्यक्ष अमर विरही गुरुङ, लोक तथा दोहोरी गायिका रञ्जिता थापामगर, लोक तथा दोहोरी गायक बलबिक्रम थापामगर रहनुहुनेछ।
आधुनिक प्रविधिको बढ्दो विकाससँगै मगर जातिको सांस्कृतिक पहिचान बोकेको कौराहाको वास्तविक रस हराउँदै गएकाले संरक्षणका लागि प्रतियोगिता आयोजना गर्न लागिएको नेपाल मगर साँस्कृतिक संघ चितवनका अध्यक्ष प्रेमकुमारी आलेमगरले जानकारी दिइन् । मगर समुदायको बसोबास बाक्लिँदै गएको चितवनमा संस्कृति संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आले मगरले बताइन् ।
मगर समुदायमा प्रचलित लोकगीतको एक प्रकारलाई ‘कौराहा’ र यसै गीतमा नाचिने नाचलाई ‘कौराहा नाच’ भनिन्छ । यो स्वरठी नाँच भित्र पर्ने एक इकाई हो । यसलाई मगर समुदायले रमाइलोका रुपमा नाँचगान गर्ने गरेको आलेमागरले बताइन् । प्रतियोगितामा प्रथम हुने समूहलाई ३५ हजार, द्धितीय हुनेलाई २० हजार र तृतीय हुनेलाई १० हजार पुरस्कार र सान्तवना हुनेलाई ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।