पशुपतिनगर (इलाम) पुस २५ गते।
इलाममा दुई सय वर्ष लामो इतिहास बोकेको निशान पदमार्गको औपचारिक उद्घाटन भएको छ। भारतको नागरी गढीबाट पहिलो पटक तत्कालीन नेपाली सेनाले निशान ल्याएर राखेको सूर्योदय नगरपालिका ११ को पूर्णे डाँडामा निशान पदमार्गको औपचारीक उद्घाटन भएको हो। बुधबार नेपाल–भारत सीमाना जोडिएको मेची नदीको मुहानदेखि सुरु भएको पदयात्रा पूर्णेडाँडा आइपुगेपछि पदमार्गको उद्घाटन गरी पदयात्रा माइजोगमाई गाउँपालिकाको हात्तीटातर्फ लागेको छ।
पदयात्रीको हात्तीटारमा भव्य स्वागत गरी एक रात बास बस्ने कार्यक्रम छ। हात्तीटारमा समेत केही समय निशान राखिएको थियो। पदयात्रा इलाम नगरपालिका ७ को माइस्थान मन्दिरमा पुगेर समापन हुनेछ।
पदयात्रामा नेपाली सेना, जनपथ प्रहरी जनप्रतिनिधि, पर्यटन व्यवसायी र स्थानीय गरेर दुई सय ५० बढीको सहभागीता रहेको छ। सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईको अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभा सदस्या टिकाराम लाप्चा, इलाम नगरपालिकाका नगर प्रमुख केदार थापा माइजोगमाई गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेवे र नेपाली सेनाको रण शार्दुल गण इलामका प्रमुख प्रहलाद घलेले संयुक्त रुपमा निशान पदमार्गको उद्घाटन गर्नुभयो।
संविधान सभा सदस्य लाप्चाले विभिन्न जातजातीसँग जोडिएको पदमार्ग उद्घाटनले इतिहासको संरक्षण गरेको बताउनुभयो। माइजोगमाई गाउँपालिका अध्यक्ष कुशबहादुर थेवेले गाउँपालिकाले पदयात्रीको स्वागतमा विभिन्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो।
नेपाल–भारत सीमाना जोडिएको मेची नदीको मुहानदेखि इलामको निशान स्थापना गरिएको माइस्थान मन्दिरसम्मको ४१ किलोमिटर पदमार्ग निर्माण गरिएको छ। इलामको गढीथुम्कामा रहेको रणशार्दुल गणको पहलमा सूर्योदय नगरपालिका, माइजोगमाई गाउँपालिका र इलाम नगरपालिकाले पदमार्ग निर्माण गरेका थिए।
सूर्योदय नगरपालिकाका नगर प्रमुखरण बहादुर राईको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। नेपाल–अङ्ग्रेज युद्धपछि विक्रम संवत् १८७२ फागुन २० गते भएको सुगौली सन्धि पश्चात् तत्कालीन नेपाली सेनाले इलाम सदरमुकाममा निशान ल्याउन प्रयोग गरिएको मार्गलाई नेपाली सेनाको समन्वयमा स्थानीय तीन पालिकाले पहिचान गरी कार्यान्वयनमा ल्याएपछि उद्घाटन गरिएको हो।
तत्कालीन नेपाल–अङ्ग्रेज युद्धपछि १८७२ फागुन २० मा भएको सुगौली सन्धिले पूर्वमा मेची नदीलाई नेपाल–भारत सीमा कायम गर्यो। त्यसपछि मिरिकस्थित नागरी गढीमा रहेको श्रीनाथ पल्टन अहिलेको सूर्योदय नगरपालिकाको पूर्णेडाँडामा आएर बसेको इतिहास छ।
मेचीदेखि नागरीगढी हुँदै टिस्टासम्मको भू–भाग ४० दिनभित्र गढी खाली गर्न सम्झौता भयो। सम्झौता कार्यान्वयन गर्दै सुब्बा जयन्त खत्रीले नागरीगढी खाली गरी सदरमुकाम पूर्णेडाँडा ल्याउनु भएको इतिहास छ।
पूर्णेडाँडा भारतीय सीमा नजिक भएको र अङ्ग्रेजले जुनसुकै बेला आक्रमण गर्नसक्ने भएकाले मुकाम खडा गर्ने क्रममा माइजोगमाई गाउँपालिकाको नामसालिङस्थित हात्तीटार हुँदै श्रीनाथ पल्टन इलाम नगरपालिका–७ स्थित माइस्थान मन्दिर ल्याइएको थियो। माइस्थान मन्दिर १८८० सालमा स्थापना भएको अनुमान छ। हाल निशान उक्त मन्दिरमा संरक्षण गरेर राखिएको छ।