चितवन, पुस २९-
पवित्र धार्मिक स्थल देवघाटधाममा भोलि माघे संक्रान्ति मेला लाग्दै छ । गोसाँइकुण्डबाट आएको त्रिशुली र दामोदर कुण्डबाट आएको कालीगण्डकी नदीको संगम स्थल हो देवघाटधाम । मेलामा सहभागी हुन चितवन लगायत देशका विभिन्न जिल्ला र भारतबाट समेत धर्मावलम्बीहरु आउने क्रम जारी छ । माघे संक्रान्तिका दिन देवघाटको वेणी संगममा स्नान गर्ने भक्तजनको ठूलो भिड लाग्ने गर्छ ।
माघे संक्रान्ति मेलालाई सुरक्षित र व्यवस्थित बनाउनका लागि चितवन र तनहुँतर्फ सबै तयारी पुरा भएको देवघाट क्षेत्र विकास समितिले बताएको छ । समितिले सोमवार पत्रकार सम्मेलनको आयोजना गरि मेला व्यवस्थापन बारे जानकारी दिएको हो ।
देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भिम बहादुर रानाको संयोजकत्वमा १५१ सदस्यिय माघे संक्रान्ति मेला व्यवस्थापन मुल समिति गठन गरिएको छ ।
चितवन र तनहुँ जोड्ने झोलुंगे पुलको मर्मत गर्ने काम सम्पन्न भएको छ भने तीर्थस्थलमा मासु र मदिरा निषेध गरिएको छ । डुंगामार्फत नदी पार गर्न चाहने भक्तजनको लागि डुंगामा सयर गर्दा एकतर्फी प्रतिव्यक्ति ५० रुपैयाँ भाडादर तोकिएको छ ।
मेलामा जाने सवारी साधनहरु आँपटारी–रामनगर र रामनगर–ठिमुरा हुँदै देवघाट प्रवेश गर्ने छन् भने बागीश्वरी हुँदै आँपटारी निस्कने व्यवस्था मिलाइएको माघे संक्रान्ति मेला व्यवस्थापन मुल समितिका संयोजक रानाले बताए । उनका अनुसार मेलालाई सुरक्षित र व्यवस्थित गर्न १६० जना स्वयमसेवक र ५०० जना सुरक्षाकर्मी परिचालन गरिनेछ ।
पर्याप्त मात्रा अस्थायी शौचालय र सिताराम संस्कृत माविको प्रांगणमा पार्किङको व्यवस्था मिलाइएको छ । साइकलको १०, मोटरसाइकलको २०, कार÷जीप÷भ्यानको ५० र बस÷ट्रकको पार्किङ शुल्क १०० रुपैयाँ निर्धारण गरिएको छ । आँपटारी–रामनगर–देवघाट र आँपटारी–रामनगर–ठिमुरा–देवघाट सडक मर्मतको काम सम्पन्न भएको छ ।