विराटनगर–
टोल र जनताका घरसम्म नेता कार्यकर्ता परिचालन गर्ने गरी नेकपा (एमाले) ले जरा केन्द्रित तीन महिने अभियान सञ्चालन गर्ने भएको छ । एमालेलाई निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि जनस्तरमै पुगेर पार्टी निर्माण अभियान सञ्चालन गर्न लागिएको हो ।
माघदेखि चैतसम्म सञ्चालन हुने अभियानको घोषणा एमाले कोशी प्रदेशले शनिबार सम्पन्न बैठकले प्रस्ताव गर्दै आइतबार प्रदेश स्तरीय अभिमुखीकरण गरिएको छ । अभिमुखीकरण कार्यक्रममा कोशी प्रदेश कमिटीका २५७, प्रदेश भूगोलमा रहेका ५६ केन्द्रीय नेतृत्व, १४ जिल्लाका पदाधिकारीहरू र जनसंगठनका केन्द्रीय पदाधिकारीहरू सहित ४४५ जनाको सहभागिता रहेको थियो ।
आगामी २५ वर्षमा नेपाललाई समृद्ध राष्ट्र निर्माणका लागि २०८४ र त्यसपछिका हरेक निर्वाचनहरुमा तीन वटै तहमा एमालेको बहुमतको सरकार निर्माण गर्ने लक्ष्य सहित अभियान सञ्चालन गरिएको संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले बताए ।
उनले भने, ‘अभियानमा पार्टी सदस्यता विस्तार र सुदृढीकरण गर्ने, बाँकी रहेका स्थानीय अधिवेशनहरू सम्पन्न गर्ने, कमिटी जीवनलाई सुदृढ पार्ने, विकास निर्माण तथा जनसरोकारका काममा पार्टी परिचालन गर्ने, किसान, मजदुर, विद्यार्थी, भूमिहीन, सुकुम्बासी, महिला लगायतका समस्यासँग जनसंगठनलाई जोड्ने लगायतका काममा पार्टी सक्रिय रहनेछ ।’