‘घले जातिलाई आदिवासीमा सूचीकृत गर्न आवश्यक’

भरतपुर :

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले घले जातिलाई आदिवासीमा सूचीकृत गर्न आवश्यक रहेको बताएकी छन् । लिःल फङ्ग (घले) समाज चितवनले ल्होसारको अवसरमा आयोजना गरेको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले घले समुदायलाई सूचीकृत गर्न भरतपुर महानगरपालिका सकारात्मक रहेको पनि उल्लेख गरिन् ।

प्रमुख दाहालले भरतपुर महानगरपालिका सबै जात–जाति, समुदाय, क्षेत्र, वर्ग, संस्कृतिलाई समान व्यवहार गर्दै हातेमालो गर्दै अघि बढी रहेको उल्लेख गरिन् । महानगरपालिकाले आदिवासीमा सूचीकृत गर्न ऐन कानुन हेरेर यहाँको माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

पहिचान र अधिकार प्राप्त गर्न एकजुट भई राज्यका विभिन्न निकायलाई ध्यानाकर्षण गर्नुपर्ने उनको धारणा थियो । यो विषयमा एकजुट हुन नसके प्राप्त उपलब्धिहरु गुम्ने र थप अधिकार प्राप्त गर्न असम्भव रहको धारणा राखे ।

घले समाजका केन्द्रीय अध्यक्ष दिनेशकुमार घलेले पहिचानको मुद्दालाई अझ शसक्त बनाउनुपर्ने उल्लेख गर्नुभयो । नेपालमा आदिवासी जनजाति उत्थान प्रतिष्ठान गठन भएपछि विभिन्न आदिवासी जनजातिहरु सूचीकृत हुने क्रममा घलेहरुलाई छुटाइएको अध्यक्ष दिनेश घलेको दाबी छ ।

घलेलाई गुरूङ नै भनेर धेरैले बुझे पनि आफूहरु गुरूङ नभएको अध्यक्ष घलेले बताए । घलेहरुको बसोवास पूर्वको संखुवासभादेखि पश्चिम बाग्लुङसम्म २५ जिल्लामा रहेको छ । नेपालको प्राचिन इतिहासदेखि नै आफ्नै भाषा, संस्कृति र लिपी रहेको आदिवासी जनजाति समुदाय घलेलाई गत वर्ष सम्पन्न स्थानीय चुनावमा अल्पसंख्यक आदिवासीको मान्यता सरकारले दिएको थियो ।

०६८ सालको जनगणनाअनुसार करिब २३ हजार जनसंख्या रहेको घलेलाई आदिवासी जनजाति महासंघले भने घटक संगठनको मान्यता दिएको छैन । माघ १ गतेलाई थारु, मगर र हिन्दू समुदायको पर्वका रुपमा मान्यता दिए जस्तै घलेको नयाँ वर्षको मान्यता दिइनुपर्ने उनीहरुको माग छ ।

सेयर गर्नुहोस्