१५ माघ, गुल्मी
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पछिल्लो समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विदेशी सहयोग रोक्ने निर्णयको प्रभाव नेपालमा पनि पर्ने बताएका छन् ।अमेरिकी विदेश विभागले हाल सञ्चालनमा रहेका प्रायः सबै विदेशी सहायता कार्यक्रमहरू रोक्न र नयाँ सहायता अस्थायी रूपमा स्थगित गर्न निर्देशन दिएको थियो ।
प्रेस चौतारी नेपाल गुल्मीले सदरमुकाम तम्घासमा मंगलबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा ज्ञवालीले अमेरिकी सहयोग ९० दिनका लागि रोक्ने निर्णयको प्रभाव त्यति ठूलो नपरे पनि मातृ शिशु सहयोग र आप्रवासी निकालासम्बन्धी विषयले नेपाललाई प्रभाव पर्ने बताए ।
अमेरिका र चीनको व्यापार युद्धको प्रभाव नेपालमा पनि पर्ने भएकाले परराष्ट्र नीतिमा नेपालले सन्तुलन कायम राख्ने गरी वर्तमान सरकारले काम गरिरहेको ज्ञवालीको भनाइ छ ।
फरक प्रसंगमा ज्ञवालीले सहकारी प्रकरणमा मुछिएका जो कोहीलाई पनि नछाडिने बताए । सहकारीमा सत्ता पक्ष वा प्रतिपक्ष जो भए पनि गल्ती गर्ने जो कोहीलाई पनि नछाड्ने उनको भनाइ छ । दोषीमा संंलग्न जो भएपनि कानुनी दायरामा ल्याएरै छाड्ने गरी सरकारले काम गरिरहेको बताए ।वर्तमान सरकार देशमा चरम निराशालाई चिर्नका लागि र राजनीतिक स्थायित्व कायम गर्नका लागि बनेको बताए । उनले अस्थिरताको राजनीति गर्नेहरू छटपटाइ रहेको बताए ।
ज्ञवालीले अहिलेको सरकार प्रधानमन्त्रीको लिस्टमा नाम राख्नका लागि मात्रै नभएको बताउँदै काम गरेर देखाउनका लागि बनेको बताए ।वर्तमान सरकार गठन भएपश्चात देशको आर्थिक अवस्था लयमा आएको उनको दाबी छ ।
उनले बृहत्तर पार्टीको संलग्नतामा संविधान संशोधन हुने बताए । धेरै भन्दा धेरै पार्टीहरूको संलग्नतामा संविधान संशोधन हुने उनको भनाइ छ ।१० वर्षे संविधानको कार्यन्वयनको अवस्थामा आएका समस्यालाई समीक्षा गर्दै अगाडि बढ्ने ज्ञवालीले बताए ।