शिक्षा समितिमा ढिलो पुगे सभापति, माफी माग्दै भने- अबदेखि हुँदैन

२० माघ, काठमाडौं

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापाले बैठकमा ढिला आएपछि माफी मागेका छन् ।आइतबार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि दफावार छलफल थियो । साढे १२ बजेका लागि बैठक बोलाइएको थियो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई, समिति सदस्य र मन्त्रालयका सचिव लगायतका कर्मचारी समयमै समिति बैठकमा पुगेका थिए ।सभापति थापालाई कुर्न परेपछि केही सांसद निस्कन पनि लागेका थिए । सभापति थापा समिति बैठकमा १ः२० तिर मात्र आइपुगे ।

बैठकको सुरुमै एमाले सांसद छविलाल विश्वकर्माले ढिला आउनुको कारण र सभापतिको स्वास्थ्यस्थिबारे प्रश्न गरे ।‘सभापतिको स्वास्थ्य स्थिति कस्तो छ ? त्यसपछि अगाडि बढौंला,’ समिति सदस्य विश्वकर्माले भने ।सभापति थापाले बिहान कार्यक्रममा गएको र टेकुमा आफू सवार गाडीलाई बाइकले ठक्कर दिएपछि ढिलाइ भएको समितिलाई जानकारी गराए ।

‘दुई वटा कार्यक्रम थियो । बैठकमा समयमै आइपुग्ने भनेर पौने १२ बजे नै कीर्तिपुरबाट हिँडेको हो । टेकुमा आइपुगेपछि एउटा मोटरसाइकलले गाडीलाई हान्यो । १०–१५ मिनेट त्यहाँ लफडा भयो,’ सभापति थापाले ढिलाइ हुनुको कारण समितिलाई सुनाए ।

त्यसपछि सभापति थापाले अबदेखि आफूबाट कमजोरी नहुने समितिलाई आश्वासन दिए ।‘सबैभन्दा अगाडि सभापति आउनुपर्छ । आगामी दिनमा म बाट त्यस्तो कमजोरी हुने छैन,’ सभापति थापाले भने ।सभापति थापाले माफी मागेपछि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि दवाफर छलफल सुरु भएको छ ।आइतबारको बैठकले परिच्छेद २ को दफा ३,४ र ५ पारित गरेको छ ।

सेयर गर्नुहोस्