झन्डै ३ करोड बजेट पास गर्दै ५८औ वार्षिक साधारण सभा सम्पन्न।

ललितपुर, माघ २९
नेपाल रेडक्रस सोसाइटी, ललितपुर जिल्ला शाखाको ५८औंं बार्षिक साधारण सभा सभापति बाबुराजा महर्जनको सभापतित्वमा सम्पन्न भएको छ । ललितपुर जिल्लाका २६ वटा उपशाखाका सभापतिहरु लगायत प्रतिनिधिमूलक सहभागिता रहेको सभामा जिल्ला शाखाका मन्त्री दिनेश कार्कीले निर्णयार्थ प्रस्तुत गर्नु भएको आर्थिक वर्ष २०८०।०८१ को प्रगति प्रतिवेदन र आर्थिक वर्ष २०८२।०८३ को प्रस्तावित कार्यक्रम सभावाट अनुमोन गरिएको छ। यसैगरी सह – कोषाध्यक्ष विनोद ताम्राकारले निर्णयार्थ प्रस्तुत गर्नु भएको उक्त आर्थिक वर्षको आर्थिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन र प्रस्तावित वजेट समेत सभावाट अनुमोन गरिएको छ।

रेडक्रस अभियान र मानवीय सेवा अन्तर्गत विशेष गरी विपद् व्यवस्थापन, रक्तसंचार सेवा, स्वस्थ्य सेवा लगायत मानवीय मुल्य र मान्यता प्रवर्धनका कार्यहरु नियमित रुपमा उपशाखाहरुको माध्यमवाट समुदाय स्थरमा रेडक्रस सोसाइटिले गर्दै आइरहेको छ। आगामी आर्थिक वर्षमा दुइ करोड असि लाख छत्तिस हजार नौसय अट्ठाइस रुपयाको बजेट अनुमोदन गरिएको छ। गत असोज ११ र १२ को अविरल वर्षाका कारण ललितपुर जिल्लाको गोदावरी नगरपालिका , महालक्ष्मी नगरपालिका र वागमती गाउपालिका लाइ नेपाल सरकारले संकटक्षेत्र घोषणा गरिएको थियो। राष्टिय विपद् व्यवस्थापन न्यूनीयकरण प्राधिकरणको स्वीकृती प्राप्त गरी सो क्षेत्रको लागि उनान्साठी लाख तेतिस हजार आठ सय एघार रुपयाको राहत तथा खानेपानी मर्मत कार्यको खर्च समेत अनुमोदन गरिएको छ।

नेपाल रेडक्रस सोसाइटीले जिल्ला शाखाहरुले गर्नु पर्ने बैधानिक दायित्व अन्तर्गत माघ महिना भित्र बार्षिक साधारण सभा हुनु पर्दछ । नेपाल रेडक्रस सोसाइटीका बारेमा अन्तर्राष्ट्रिय रेडक्रस महासंघले प्रश्नहरु उठाइरहेको भन्ने सन्धर्भमा यो साधारण सभा सम्पन्नले सोसाइटीलाई थप मजवुत वनाउने कार्य भएको कुरा सभापति बाबुराजा महर्जनले बताउनुभयो ।

कार्यक्रममा नेपाल रेडक्रसका पूर्व केन्द्रीय कोषाध्यक्ष देवेन्द्र वहादुर प्रधान, सल्लाहकार हरिगोविन्द महर्जनले साधारण सभा सफलताको शुभकामना दिनु भएको थियो भने उपसभापति सूर्य प्रसाद घिमिरेले स्वागत गर्नु भएको थियो। सोही अवसरमा यस वर्षको वाढी पहिरोमा उल्लेखनीय भूमिका खेल्ने स्वय सेवक सुमन महर्जन र अञ्जली महर्जनलाई सम्मान गरिएको थियो।

सेयर गर्नुहोस्