काठमाडौँ , फागुन ७
नेपाल राष्ट्रिय शिक्षक संगठन ललितपुर जिल्ला समितिको अध्यक्षमा पु:न देवीप्रसाद दुलाल निर्विरोध निर्वाचित हुनुभएको छ। यही माघ २६ गते ललितपुरको आदर्श कन्या निकेतन माध्यमिक विद्यालयमा सम्पन्न १४औं अधिवेशनबाट २५ सदस्य सहित दुलाल अध्यक्षमा निर्वाचित हुनुभएको हो।
गत माघ २६ गते नै सम्पन्न हुनुपर्ने अधिवेशन सचिव पदमा दुई जनाको उम्मेदवारी परेका कारण निर्वाचन प्रक्रियाको लागि केही दिन पर सारिएको थियो। सचिव पदका दुई उम्मेदवार , अध्यक्ष मण्डल र निर्वाचन समितिको लामो छलफलपछि सचिव पदमा दामोदर आचार्यलाई सर्वसहमत निर्वाचित गरिएको थियो। निर्वाचित समितिलाई नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले प्रमाणपत्र वितरण तथा गोपनीयताको सपथ गराउनु भएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि भण्डारीले ललितपुरले दरिलो नेतृत्व पाएको कुरा बताउनुभयो। नेपाल राष्ट्रिय शिक्षक संगठनका राष्ट्रिय समितिका पूर्व अध्यक्ष बाबुराम थापाले दुलालको नेतृत्व निखारिएको नेतृत्व हुने कुरा बताउनुभयो। केन्द्रीय समिति सदस्य सुरेन्द्र कुमार घिमिरेले समन्वय गरेको कार्यक्रममा नवराज सन्जेल, बाबुराजा महर्जन, नवराज सन्जेल, थलप्रसाद तिमल्सिना र कमला बजगाई राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित हुनुभएको थियो।