ललितपुर ,चैत्र १९
पेन्सन वञ्चित शिक्षक समूहको सचिवालय बैठक आज पाटनमा सम्पन्न भएको छ। बैठकले शिक्षकहरूको हकहित सुनिश्चित गर्ने र अन्यायका विरुद्ध सशक्त आवाज उठाउने निर्णय गरेको छ।
बैठकले शिक्षा मन्त्री विद्या भट्टराईलाई पेन्सन दिलाउन सफल भूमिका खेलेकोमा धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ। साथै, आगामी दिनमा कुनै पनि शिक्षकसम्बन्धी अन्याय भएमा त्यसका विरुद्ध दृढतापूर्वक आवाज उठाउने प्रतिबद्धता व्यक्त गरिएको छ।
बैठकको अध्यक्षता समूहका अध्यक्ष अमृत कार्की ले गर्नुभएको थियो। बैठकमा वरिष्ठ उपाध्यक्ष मोदनाथ कोइराला, उपाध्यक्ष राजेन्द्र रोकाय, महासचिव टीका खड्का, उपमहासचिव लिजा डंगोल र चिन्तामणि ढकाल, ललितपुर जिल्ला अध्यक्ष हरि घिमिरे, दोलखा जिल्ला अध्यक्ष सुवर्ण श्रेष्ठ लगायतका अन्य सचिवालय पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
सचिवालय बैठकले समूहको आगामी गतिविधि योजनाबद्ध रूपमा अघि बढाउने निर्णय गर्दै छुट्टै केन्द्रीय भेला आयोजना गर्ने तयारी समेत गरेको छ। प्रवक्ता तथा बागमती प्रदेश अध्यक्ष बुद्ध गौतमले बैठकमा उक्त जानकारी दिनुभएको हो।
बैठकमा शिक्षकहरूका समस्या समाधानका लागि सरकारसँग थप वार्ता गर्ने, ऐन कानुनमा आवश्यक संशोधनको पहल गर्ने तथा शिक्षकहरूको हक, अधिकार र सुरक्षाका लागि निरन्तर संघर्ष गर्ने विषयमा छलफल भएको छ।