काठमाडौं, बैशाख २३
अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएर नेपाललाई गौरवान्वित गर्ने कार्यमा सीतापाइलास्थित निर्भाना एकेडेमीका दुई विद्यार्थीले उल्लेखनीय सफलता हात पारेका छन्। विद्यालयका कक्षा ६ का सक्षम श्रेष्ठ र कक्षा ८ का आश्रय उपाध्यायले जापानको ओसाका शहरमा सम्पन्न अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप २०२५ मा काश्य पदक जितेर देशको नाम विश्व मञ्चमा उजागर गरेका हुन्।
अप्रिल २५ देखि २७ तारिखसम्म आयोजना भएको सो प्रतियोगितामा उनीहरूले १२ देखि १४ वर्ष उमेर समूह अन्तर्गत विभिन्न देशका प्रतिभावान खेलाडीहरूसँग प्रतिस्पर्धा गरेका थिए। कठिन अभ्यास, समर्पण र दृढ आत्मविश्वासका साथ प्रस्तुत भएका सक्षम र आश्रयले उल्लेखनीय प्रदर्शन गर्दै पदक जितेका हुन्।
सो उपलब्धिप्रति विद्यालय परिवार अत्यन्त हर्षित रहेको छ। विद्यालयका प्रधानाध्यापक निराजन अधिकारी ले खुशी व्यक्त गर्दै भने, “हाम्रा विद्यार्थीहरूले अन्तर्राष्ट्रिय स्तरमा देखाएको उत्कृष्ट प्रदर्शनले सम्पूर्ण नेपालीको शिर गर्वले उचो भएको छ। यो सफलता केवल दुई विद्यार्थीको मात्र होइन, सम्पूर्ण विद्यालय समुदायको लागि प्रेरणादायी उपलब्धि हो।”
विद्यालयले एक विशेष सम्मान कार्यक्रम आयोजना गर्दै विजयी विद्यार्थीहरूलाई ताली र सम्मानपत्रद्वारा सम्मानित गरेको थियो। साथै, विद्यालय प्रशासनले विद्यार्थी, अभिभावक र प्रशिक्षकहरूलाई यस सफलतामा साथ दिएकोमा हार्दिक बधाइ तथा धन्यवाद ज्ञापन गरेको छ।
निर्भाना एकेडेमीले आगामी दिनहरूमा यस्ता प्रतिभाहरूलाई अझै बढी प्रोत्साहन गर्न विविध खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूमा लगानी गर्ने योजना समेत सार्वजनिक गरेको छ।