जिल्लाका विभिन्न ठाउँमा शनिबार मध्याह्नदेखि आइतबार बिहान सबेरैसम्म आठ ठाउँमा भएको मोटरसाइकल तथा स्कुटर दुर्घटनामा एक जनाको निधन भएको छ । आठ दुर्घटनामध्ये चार ठाउँमा मोटरसाइकल अनियन्त्रित भएर पल्टेको चितवन प्रहरीले जानकारी दिएको छ ।
चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) रवीन्द्र खनालका अनुसार मोटरसाइकल दुर्घटनामा परेर पर्सा ठोरी गाउँपालिका–१ का ५५ वर्षका गमबहादुर कुँवरको निधन भएको छ । काम विशेषले भरतपुर आएर फर्कँदै गरेका कुँवरले चलाएको बा प्र ०३–००३ प २०७६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर शनिबार मध्याह्न १२ बजेर ४० मिनेट जाँदा भरतपुर महानगरपालिका–१४ नमस्ते चोकको बाटो छेउको पोलमा ठोक्किएको डिएसपी खनालले बताए । सख्त घाइते भएका कुँवरको भरतपुरको सरकारी अस्पतालमा उपचारका क्रममा दिउँसो पौने दुई बजेतिर निधन भएको डिएसपी खनालले जानकारी दिए ।