व्यवसायको सुरक्षा ग्यारेन्टी गर्न माग

उद्यागी व्यवसायीले सुरक्षाको ग्यारेन्टीको माग गरेका छन् । नेपाल राष्ट्रिय उद्योग व्यवसाय संघ चितवनको आइतबार भएको तेस्रो साधरणसभा तथा दोस्रो अधिवेशनमा बोल्दै व्यवसायीहरुले यस्तो बताएका हुन् ।

नेपाल उद्योग तथा व्यवसायी महासंघका संयोजक भागिरथ सापकोटाले नीजि क्षेत्रका उद्योगहरु राज्यका सम्पती भएको भन्दै त्यसको सुरक्षा राज्यले नै गर्नुपर्ने बताए । ‘नीजि क्षेत्रहरु राज्यका सम्पती हुन । उनीहरुले राज्यलाई आम्दानी गर्ने मेसिन बनाएका हुन्,’ संयोजक सापकोटाले भने ‘यसको सुरक्षा राज्यले गर्नुपर्दछ ।’ सापकोटाले नीजि सम्पती तोडफोड गर्नेलाई राज्यद्रोहको घोषणा गर्नुपर्ने माग समेत राखे ।

हरेक देशमा अर्थतन्त्र अप्ठेरो बनेको अवस्थामा राज्य सत्तामा छिर्न चाहनेहरुले उद्योगी व्यवसायीलाई निसाना बनाउने गरेको बताए । ‘उद्योगी व्यवसायीलाई हमला गरिएको छ । उद्योगी कानुन बनाउने ठाउँमा छैनन् तर व्यवसायीलाई हमला किन गरियो?’ प्रश्न गर्दै उनले भने‘राज्यसत्ता हातमा लिन खोज्दा हाम्रा उद्योग व्यवसाय निसानामा परेँ।’

समाजवादमा उत्पादन प्रमुख भएको बताउँदै उनले ८६ प्रतिशत रोजगारी सृजना गरेको क्षेत्रलाई आक्रमण गरेकोमा दुखेसो पोखे । अहिलेको मुख्य समस्या बेरोजगारी र अर्थतन्त्र भएको भन्दै सापकाटाले यसको समाधानका लागि हरेक नागरिक सेचत हुनुपर्ने बताए ।

पछिल्ला वर्ष राजनीतिक दलहरुले पनि अर्थतन्त्रको विषयलाई प्रमुख प्राथमिकता दिएको पाईदैन । अबका दिनहरुमा राजनीतिक दलहरुले अर्थतन्त्रलाई प्रमुख प्राथमिकतामा राखेर काम गर्नुपर्ने उनको धारणा छ । उनले हिमालयन पर्यटन, धार्मिक पर्यटन, खनिज उद्योग, जलस्रोत, कृषि मार्फत देशको विकास गर्न जरुरी रहेको बताए । ‘हाम्रो देशको चरित्रलाई चिनेर जाने भनेको समाजवादको बाटो हो । ८ हजार माथिका हिमाल, ऊर्जा, पशुपति, गौतम बुद्ध जन्मस्थल, जानकी जन्मेको ठाउँ अरु देशले बनाउन सक्दैनन्’ उनले भने ‘यो भनेको नेपाली क्यारेक्टरको इकोनोमी हो ।’

उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जिवी सुवेदीले निजी क्षेत्रको सुरक्षामा राज्यले विशेष ध्यान दिनुपर्ने धारणा राखे । अहिले निजी प्रतिष्ठानहरुको मनोबल गरिरेको बताउँदै उनीहरुको मनोबल बढाउन तर्फ सरकार लाग्नुपर्ने बताए ।

नेकपा एमाले चितवनका अध्यक्ष कमल पाठकले निजी क्षेत्रको सुरक्षा नभए नेपालमा उद्योगीले लगानी नगर्ने भन्दै लगानीको वातावरण मिलाउन सरकारले माग गरेका छन् । ‘व्यवसायीक प्रतिष्ठान ध्वस्त हुने, व्यवसायीको सुरक्षा भएन भने उनीहरुले लगानी किन गर्छन्,’ उनले भने ‘अहिलेको अवस्थामा व्यवसायीले व्यवसाय अगाडि बढाउन सक्दैनन्।’

कार्यक्रममा बागमती प्रदेशका सांसद तथा नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जेएन थपलिया, उद्योगी व्यवसायी तिलचन्द्र भट्टराई, खुमकान्त रेग्मी, नेकपा एमाले चितवनका निवर्तनमा अध्यक्ष रामप्रसाद न्यौपाने, महानगर अध्यक्ष सम्भव थपलिया लगायतले आफ्नो धारणा राखेका थिए ।

सेयर गर्नुहोस्