सिद्धि चेपाङ छात्रावासलाई नारायणगढ लायन्सको न्यानो कपडा

चितवनको कालिका नगरपालिका–१०, स्थित सिद्धि चेपाङ छात्रावासलाई नारायणगढका तीन वटा क्लवले लत्ताकपडा सहयोग गरेको छ ।

नारायणगढ लायन्स क्लव, लायन्स क्लव अफ नारायणगढ नारायणी र लियो क्लव अफ नारायणगढले संयुक्त रुपमा छात्रावासमा पुगेर आवश्यक लत्ताकपडा सहयोग गरेको हो । छात्राबासलाई जाडोका लागि चाहिने न्यानो कपडाहरु, ब्ल्याङकेट, सिरानी, आवश्यक अन्य सामग्रीहरु सहयोग गरिएको नारायणगढ लायन्स क्लवका अध्यक्ष सनद कुमार पियाले जानकारी दिनुभयो । उहाँले विगत केही वर्षयता निरन्तर यस छात्रावासमा आवश्यक सहयोग गरिरहेको भन्दै अब दिर्घकालिन काम गर्न आवश्यक रहेको बताउनुभयो ।

लायन्स क्लव अफ नारायणगढ नारायणीकी अध्यक्ष जोशिला पियाले विगतदेखि यस छात्राबासमा सहयोग गर्दै आएकोमा अहिले जाडोयामलाई ध्यानमा राखेर आवश्यक सामग्री सहयोग गरिएको बताउनुभयो । लायन्सका सदस्यहरुबाट आवश्यक सामग्री संकलन गरेर छात्राबासलाई अहिलेलाई चाहिने अतिआवश्यक सामग्री सहयोग गरिएको अध्यक्ष पियाले बताउनुभयो ।
छात्राबासमा आवश्यक सामग्री सहयोगका लागि नारायणगढ लायन्सका पूर्व अध्यक्ष शान्त कुमार पियाले संयोजन गर्नु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि लायन्स डिष्ट्रिक्ट ३२५ आर नेपालका सिनियर इभ्यालुसन डिष्ट्रिक्ट कोअर्डिनेटर राजेन्द्र गौतमले नारायणगढ लायन्स, नारायणगढ नारायणी र नारायणगढ लियाले सधै रचनात्मक कार्य गर्दै आएकोमा प्रशंसा गर्नुभयो । उहाँले हरेक वर्ष यी क्लवहरु उत्कृष्ट हुँदै आइरहेकोमा खुशी व्यक्त चितवनमा लायन्स क्लवको वृद्धिमा यी क्लवहरुको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले छात्रावासमा आवश्यक सबै सामग्री हाललाई उपलब्ध गराएको भन्दै तीन वटै क्लवलाई धन्यवाद दिनुयभो ।

छात्रावासका प्रमुख भरत चेपाङले अहिलेसम्म धेरैजसो खाद्यान्न मात्रै सहयोग प्राप्त हुँदै आएकोमा जाडोयामा चाहिने अतिआवश्यक लत्ताकपडा कपडा प्राप्त भएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले आगामि दिनमा यस्तै साथ र सहयोगको अपेक्षा गर्नुभयो ।
नारायगढ लायन्स क्लवका सचिव विधान श्रेष्ठले संचालन गर्नुभएको कार्यक्रम नारायणगढ लायन्सका अध्यक्ष सनद कुमार पिया, लायन्स नारायणगढ नारायणीकी अध्यक्ष जोशिला पिया र लियो क्लव अफ नारायणगढकी अध्यक्ष समृद्धि पियाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नारायणगढ लायन्स क्लवका पूर्व अध्यक्षहरु प्रशान्त पिया, विवश पिया, अन्य लायन तथा लियो सदस्यहरुको उपस्थिति रहेको थियो ।

६ वर्षअघि स्थापना भएको छात्रावासमा हाल ७० जना चेपाङ विद्यार्थीहरु आवासीय सुविधा लिइरहेका छन् । ती विद्यार्थीहरु नजिकै रहेको विद्यालयहरुमा अध्ययन गरिरहेका छन् ।

सेयर गर्नुहोस्