डा. रामजीले रास्वपाको बन्दसूचीबाट लिए नाम फिर्ता

राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचीबाट डा. रामजी रामले आफ्नो नाम फिर्ता लिएको घोषणा गरेका छन् । उनले फेसबुक मार्फत नाम फिर्ता लिएको घोषणा गरेका हुन् ।

उनले लेखेका छन्, “दलित समुदायबाट समानुपातिक प्रतिनिधित्वको बन्द सूचीमा मेरो नाम समावेश हुनु व्यक्तिगत रूपमा सम्मानको विषय थियो । यो केवल मेरो नाम मात्र होइन, पुस्तौँदेखि आवाजविहीन बनाइएका हजारौँ सपनाहरूको प्रतिनिधित्व थियो । त्यसैले यो अवसरप्रति म सधैँ आभारी रहनेछु ।”

उनले थपेका छन्, “तर, राजनीति केवल अवसर प्राप्त गर्ने खेल होइन, यो त्याग, नैतिक साहस र सही समयमा सही निर्णय गर्ने जिम्मेवारी पनि हो । आज म यो निष्कर्षमा पुगेको छु कि- मेरोभन्दा अझै बढी पीडित, अझै कम सुन्निएको, तर, संसदभित्र पुग्न नितान्त आवश्यक आवाजहरू अझै कतै पछाडि छन् ।”

उनले दलित समुदायको गौरव, आत्मसम्मान र दीर्घकालीन प्रतिनिधित्वलाई केन्द्रमा राख्दै समानुपातिक बन्द सूचीबाट आफ्नो नाम स्वेच्छाले फिर्ता लिने निर्णय गरेको उल्लेख गरेका छन् ।

 

सेयर गर्नुहोस्