हामीले सदमा प्रधानमन्त्रीको अनुहार होइन, जवाफदेहिता खोजेका हौंः सांसद ओली

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुम्बु ओलीले सदनमा प्रधानमन्त्रीको माग केवल अनुहार हेर्नको लागि नभई जवाफदेहीताको खोजी भएको बताएकी छन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले लोकतन्त्र केवल चुनाव जित्ने प्रणाली नभई निरन्तर संवादको अभ्यास भएको भन्दै सदनमा प्रधानमन्त्रीको माग केवल अनुहार हेर्नको लागि नभई जवाफदेहीताको खोजी भएको धारणा राखिन् ।

उनले भनिन्,‘लोकतन्त्र केवल चुनाव जित्ने प्रणाली मात्र होइन् । यो निरन्तर संवादको अभ्यास हो । त्यसैले यो स्थानमा हामीले प्रधानमन्त्रीज्यूलाई बोलाउनु उहाँको उपस्थिति खोज्नु उहाँको केवल अनुहार हेर्नको लागि होइन् । उहाँबाट जवाफदेहीता खोजेका हौं ।’

ओलीले पहिलो अधिवेशनमा प्रधानमन्त्री नबोली सदनबाट बाहिरिँदा आफूहरूले स्वीकार गरेको उल्लेख गर्दै दोस्रो अधिवेशनमा पनि नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री अनुपस्थित गएकोप्रति असन्तुष्टि व्यक्त गरिन् ।

उनले सदनमा सुकुम्बासी र संवैधानिक परिषद्सम्बन्धी प्रश्न उठाउँदा प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत देश र जनतालाई जवाफ दिने गरेको टिप्पणी समेत गरिन् । प्रधानमन्त्री सदनप्रति अनिच्छुकभएको र संसदीय अभ्यासप्रति उत्तरदायी बन्न नखोजेको उनको आरोप छ ।

उनले भनिन्,‘पहिलो अधिवेशनमा प्रधानमन्त्री नबोली जानुभयो हामीले स्वीकार गरेका थियौं । दोस्रो अधिवेशन सुरु भयो नीति तथा कार्यक्रम त्यो उहाँको कार्यक्रम हो । उहाँले अपनत्व नलिईकन कार्यक्रमकोबीचमा उठेर जानुभयो । उहाँको केही बाध्यताहरु पनि थिए होलान । हामी सदनमा सुकुम्बासी र संवैधानिक परिषद्का प्रश्न उठाउँछौं प्रधानमन्त्री ज्यू आफ्नो सामाजिक सञ्जालमा देश र जनतालाई जवाफ दिनुहुन्छ । सायद प्रधानमन्त्री ज्यू यो सदनप्रति अनइच्छुक हुनुहुन्छ । संसदीय अभ्यासप्रति उत्तरदायी बन्न खोज्नुभएको छैन् । उहाँको आवाज एउटा दिशा बन्छ भनेर हामीले खोजेका हौं ।’ न्यूज बैंक

सेयर गर्नुहोस्