विगत केही दिनदेखि काठमाडौं उपत्यकामा गर्मी बढेको छ । केही स्थानमा निरन्तर चर्को घाम लाग्नुका साथै अधिकतम तापक्रम पनि बढिरहेको छ भने देशका केही स्थानमा पानी पर्ने सम्भावना समेत छ ।
यसै सन्दर्भमा नेपाल न्यूज बैंकले वरिष्ठ मौसमविद् विभूति पोखरेलसँग गरेको कुराकानीमा उनले नेपालमा हाल पूर्वदेखि पश्चिमसम्म फैलिएको न्यून चापीय रेखा पूर्वी क्षेत्रको नजिक रहेका बताएकी छन् ।
उनले बिस्तारै मध्य भागमा वर्षा रोकिने र अत्यधिक गर्मी तथा तापक्रम बढ्ने जानकारी दिइन् । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागहरूमा तातो दिनको अवस्था रहेकाले पूर्वतयारी अवस्थामा रहनुपर्ने उनको सुझाव छ ।हालको अवस्थालाई निरन्तर निगरानी गरिँदै छ र उनले अझै दुई—तीन दिन लगातार यस्तै देखिएमा बेलुकासम्म ‘तातो लहर’ को अवस्था आएको हो भनेर पुष्टि गर्नुपर्ने जानकारी दिइन् ।उनका अनुसार देशका धेरै स्थानहरूमा सरदरभन्दा कम वर्षा हुने देखिएको छ । ‘सरदरभन्दा कम वर्षा हुँदैमा बाढी पहिरो नआउने भन्ने हुँदैन । लामो समय खडेरी हुने र एकैचोटी भारी वर्षा हुने अवस्था रहँदा बाढी पहिरोको जोखिम उत्तिकै रहन्छ जसका लागि पूर्वतयारी गर्नुपर्ने हुन्छ,’ उनले भनिन् ।
गण्डकी प्रदेशमा बाढी पहिरोको जोखिमको विषय राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरमा) बाट जानकारी आएको बताइन् । तर वर्षा सरदर भन्दा कम देखिएको उनले बताइन् ।पछिल्लो समय नेपालमा मौसम पूर्वानुमानमा प्रविधिको व्यापक प्रयोग हुने गरेकाले जानकारी गराउन सहज भएको बताइन् । ‘विगतको तुलनामा हाल पूर्वानुमान धेरै मिल्नुको मुख्य कारण प्रविधिको प्रयोग हो । जति नयाँ प्रविधि अपनाउन सकियो, पूर्वानुमान त्यति नै सटिक (नजिक) हुनेछ,’ उनले भनिन् ।चट्याङको पूर्वानुमानका लागि स्याटेलाइट र मौसमी प्रणाली कहाँबाट कहाँ जाँदैछ र कस्तो खालको प्रणाली हो त्यसलाई आधार मानेर पूर्वानुमान गरिने उनले बताइन् ।उनले बाढीको पूर्वानुमानको लागि छुट्टै नयाँ ‘फ्लड फोरकास्टिङ मोडल’ बाढी पूर्वानुमान मोडेल प्रयोग गर्ने गरिएको उनले जानकारी दिइन् ।उनले मौसम पूर्वानुमानको लागि आफ्नै तीन दिने मोडलहरू र (संख्यात्मक मौसम भविष्यवाणी)जस्ता उपलब्ध प्रविधिहरू चलाइएको उल्लेख गरिन् ।देशभर फैलिएको ‘हाइड्रो—मेटियोरोलोजिकल सञ्जाल’ (जल—मौसम सञ्जाल) मार्फत मौसम सम्बन्धी तथ्याङ्कहरू संकलन गर्ने गरिएको बताइन् ।उच्च हिमाली भूभागमा यो सञ्जाल केही कम भए पनि देशभरिका विभिन्न स्टेसनहरूबाट प्राप्त अब्जर्भेसन, डिजिटल मोडलहरू र पछिल्लो स्याटेलाइट तथ्याङ्कलाई आधार मानेर दैनिक मौसम पूर्वानुमान गर्ने जानकारी दिइन् ।






