१० महिनामा साढे १७ करोड रुपैयाँको चिज आयात, कुन कुन देशबाट आयो ?

काठमाडौँ : नेपालमा दुग्धजन्य पदार्थमा आत्मनिर्भर रहेको दाबी गरिए पनि चिजमा भने परनिर्भरता बढ्दो क्रममा देखिएको छ । १० महिनामा साढे १७ करोड रुपैयाँको चिज आयात भएको छ ।भन्सार विभागको पछिल्लो १० महिनाको (आर्थिक वर्ष २०८२/८२ को साउन–वैशाख) तथ्यांकअनुसार नेपालले कुल १७ करोड ५३ लाख ४१ हजार रुपैयाँ बराबरको चिज आयात गरेको छ । यस अवधिमा २ लाख ६ हजार ९ सय १७ किलो चिज भित्रिएको छ भने यसबाट सरकारले ५ करोड १९ लाख ३३ हजार रुपैयाँ भन्सार महसुल सङ्कलन गरेको छ । नेपालमा आयात हुने चिजको सबैभन्दा ठुलो हिस्सा भारतले ओगटेको छ । १० महिनाको अवधिमा भारतबाट मात्रै १२ करोड ५८ लाख ५५ हजार रुपैयाँ बराबरको १ लाख ५९ हजार १६६ किलो चिज आयात भएको छ । भारतबाट विशेष गरी कोरेको, धुलो र अन्य साधारण चिजहरू बढी आउने गरेका छन् ।

युरोपेली मुलुक फ्रान्सबाट नेपालमा महँगो र प्रोसेस्ड चिज बढी आउने गरेको देखिन्छ । फ्रान्सबाट २ करोड १७ लाख १५ हजार रुपैयाँ बराबरको २० हजार ४०० किलो चिज आयात भएको छ । यसबाट मात्रै सरकारले ६५ लाख रुपैयाँभन्दा बढी राजस्व उठाएको छ । इटालीबाट ६ हजार २५४ किलो चिज आयात गर्दा १ करोड ३२ लाख ५६ हजार रुपैयाँ बाहिरिएको छ । यसको प्रति किलो मूल्य औसतमा २,१०० रुपैयाँभन्दा बढी पर्न जान्छ । चीनबाट ३३ लाख ४ हजार रुपैयाँको १३ हजार ८८८ किलो चिज भित्रिएको छ ।

यस्तै, अस्ट्रेलियाबाट २२ लाख ४० हजार रुपैयाँको ५७८ किलो चिज आयात भएको छ । यस्तै अन्य मुलुकहरूः जर्मनीबाट २० लाख ९१ हजार, नेदरल्यान्ड्सबाट १६ लाख १७ हजार र डेनमार्कबाट ३ लाख ६८ हजार रुपैयाँ बराबरको चिज आयात भएको छ । यस्तै संयुक्त अरब इमिरेट्स (युएई), कतार र अमेरिकाबाट पनि थोरै परिमाणमा चिज भित्रिएको छ ।

सेयर गर्नुहोस्