मास्टरमाइन्डर’ चालकको ११ लाख लुट्ने योजना जब प्रहरीले असफल पारिदियो

सुर्खेत : रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको नगर प्रहरीमा सहायक निरीक्षक पदमा कार्यरत छन्, खड्क बुढा । उनको घर सोही नगरपालिकाको वडा नम्बर १ को फिलिङ्गेमा पर्छ । घरमा कुनै समस्या थियो सायद । उनले श्रीमतीलाई पैसा पठाउने योजना बनाए । गाउँमा सहर बजारजस्तो जताततै बैंक हुने कुरा भएन । उनले आफ्नै गाउँको एक जना गाडी चालक २६ वर्षीय मुकेश विकलाई सम्झिए । उनले गत मंगलबार बेलुका ७ बजेतिर मुकेशको हातमा ११ लाख ३५ हजार रुपैयाँको झोला थमाउँदै भने—पैसा घरमा लगेर मेरो श्रीमतीलाई दिइदिनु है । उनले आफ्नै ठाउँको गाडी चालक भनेर विश्वासका साथ उक्त रकम मुकेशसँग पठाएका थिए । मुकेशले चलाएको बा.१३च. २९५७ नम्बरको डबल क्याप बोलेरो जिप आठबिसकोट नगरपालिका वडा नम्बर १ रोकाजास्थित भित्री सडक खण्ड हुँदै फिलिङ्गेतर्फ लाग्यो ।

७ः३० मिनेटको समयमा राडीबाट खेततर्फ जाँदै गरेको अवस्थामा एक्कासि गाडी अपहरण गरी ४—५ जनाको अज्ञात समूहले दुईवटा मोबाइल र उनै नगर प्रहरीका सहायकले पठाएको रकम लुटपाट भएको कुरा उनै चालक मुकेशले फोन गरेर प्रहरीलाई जानकारी गराए । ‘हाम्रो गाडीलाई नामथर नखुलेका ४—५ जना केटाहरूको समूहले एक्कासि बाटो छेक्यो, मलाई कुटपिट गर्यो,’ उनले प्रहरी कहाँ फोन गरी भनेका थिए, ‘हामीसँग भएका दुई वटा मोबाइल र पैसाको झोला लिएर फरार भए ।’

प्रहरीलाई शङ्का लाग्छ । उनै चालकलाई जिल्ला प्रहरी कार्यालयमा लिएर सोधपुछ गर्छ । जब अनुसन्धानबाट उनै चालक मुकेश नै उक्त रकम लुटपाटको ‘मास्टर माइन्डर’ भएको पत्ता लाग्छ, प्रहरी नै चकित पर्छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी तथा प्रहरी निरीक्षक हरिप्रसाद पुन भन्छन्– ‘मुकेशले झारमारे भन्ने स्थानमा पुगेर लुटपाटको योजना बनाएको रहेछ ।’

झारमारे भन्ने ठाउँमा नास्ता खान भन्दै गाडी रोकियो । त्यही बेला मुकेशले आफ्ना केही साथीहरूलाई फोन गरेर आफूले गाडीमा कसैको पैसा ल्याएको जानकारी गराएको रहेछ । सोही फोनमा उनीहरूबिच योजना बनाएर सहायक नगर प्रहरी निरीक्षकको रकम लुट्ने योजना बनाएको प्रहरी निरीक्षक पुनले बताए । उनका अनुसार, पूर्वयोजना बमोजिम आठबिसकोट नगरपालिका वडा नम्बर २ तितेमिरे जङ्गलमा जब गाडी पुग्छ, त्यहाँ बाटो ब्लक गरिएको हुन्छ ।

चालक मुकेश गाडी रोकेर ब्लक भएको बाटो खुलाउन जान्छन्, एक्कासि जङ्गलबाट ४ जना व्यक्ति अनुहारमा मुकुन्डो लगाएर आउँछन् । रोकिएको गाडीमा उनीहरू प्रवेश गर्छन् । र, पैसाको झोला लगेर जङ्गलतर्फ भाग्छन् । चालक मुकेशले भने प्रहरीलाई फोन गरेर आफूमाथि हातपात गरेर चालकको साथ राखेको दुईवटा मोबाइल फोन र गाडी भित्र चालकको सिट नजिक रहेको झोला लिएर उनका साथीहरू फरार भएको जानकारी गराएका थिए ।

प्रहरी निरीक्षक पुनले लुटिएको भनिएको ११ लाख ३० हजार चालक मुकेशले राख्न लगाएको घटनास्थल नजिकैको जङ्गलबाट बरामद गरिएको बताए । ‘केही दिनको अनुसन्धानबाट घटनाको रहस्य खुल्यो,’उनले भने, ‘घटनामा संलग्न अन्य व्यक्ति फरार छन् । उनीहरूको खोजतलास भइरहेको छ ।’ चालक मुकेशलाई भने पक्राउ गरी थप अनुसन्धान भइरहेको उनले बताए ।

 

सेयर गर्नुहोस्