नेपालको पर्यटन प्रवर्द्धनबारे अमेरिकामा छलफल

काठमाडौँ । अमेरिकाको वासिङ्टन डीसीस्थित नेपाली राजदूतावासको आयोजनामा मेक्सिकोको प्रसिद्ध पर्यटकीय सहर काङ्कुनमा नेपालको पर्यटन, व्यापार तथा लगानीका अवसरहरू प्रवर्द्धन गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको छ।

नेपालमा वैदेशिक लगानी भित्र्याउने र पर्यटन प्रवर्द्धन गर्न दूतावासले सञ्चालन गरिरहेको आर्थिक कूटनीति प्रयास अन्तर्गत कार्यक्रमको आयोजना गरिएको हो।

सो कार्यक्रममा मेक्सिको लगानीकर्ता तथा पर्यटन व्यवसायीहरू माझ नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरू, हस्तकला तथा अन्य निर्यातयोग्य व्यापारिक वस्तुहरू र जलविद्युत, पूर्वाधार एवं सूचना प्रविधि जस्ता क्षेत्रमा रहेका लगानीका सुनौला अवसरहरूबारे जानकारी गराएको अमेरिकास्थित नेपाली दूतावासले जनाएको छ।

कार्यक्रममा बोल्दै मेक्सिकोका सांसद लुइस हम्बर्टो अल्डाना नाभारा र उपस्थित उद्यमीहरूले नेपालको प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताप्रति चासो देखाउँदै दुई देश बिचको व्यापारिक सम्बन्ध र पर्यटन सञ्जाललाई अझ मजबुत बनाउन सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।

कार्यक्रममा मेक्सिकोका सङ्घीय सांसद नाभारोका साथै स्थानीय उद्योगी, व्यवसायीहरू तथा पर्यटन क्षेत्रका उद्यमीहरूको उपस्थिति रहेको दूतावासले जनाएको छ।

सेयर गर्नुहोस्