तेहरान । स्ट्रेट अफ होर्मुज नजिक क्षतिग्रस्त भई आगलागी भएको कन्टेनर जहाजका चालकदलका सबै सदस्यको सकुशल उद्धार गरिएको बेलायतको यूके मेरिटाइम ट्रेड अपरेसन्स (यूकेएमटीओ) ले जनाएको छ ।
यूकेएमटीओका अनुसार जहाजमा क्षति पुगेपछि चालकदलले लाइफबोटमार्फत जहाज छाडेका थिए । त्यसपछि स्थानीय अधिकारीहरूले उनीहरूको सुरक्षित उद्धार गरेका हुन् । जहाजका कम्पनी सेक्युरिटी अफिसर (सीएसओ)ले आइतबार बिहान चालकदलको उद्धार भएको जानकारी यूकेएमटीओलाई दिएका थिए ।
यसअघि यूकेएमटीओले ओमानको पूर्वी समुद्री क्षेत्रमा यात्रा गरिरहेको कन्टेनर जहाजको पछाडिको भागमा क्षति पुगेपछि आगलागी भएको जनाएको थियो । उता, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले अनधिकृत मार्ग प्रयोग गरेर हर्मुज जलडमरूमध्य पार गर्न खोजेको जहाजतर्फ चेतावनीस्वरूप गोली प्रहार गरेपछि स्ट्रेट अफ होर्मुज बन्द गरिएको दाबी गरेको थियो ।
आईआरजीसीले साइप्रसको झण्डा बोकेको एक कन्टेनर जहाजमाथि प्रत्यक्ष आक्रमण गरेको आरोप यसैबीच, अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले लगाएको छ । सेन्टकमका अनुसार उक्त घटनामा एक चालकदल सदस्य बेपत्ता भएका छन् । तर, यूकेएमटीओले उद्धार भएको जहाज र सेन्टकमले उल्लेख गरेको साइप्रस(झण्डावाहक जहाज एउटै हो वा होइन भन्ने कुरा हालसम्म पुष्टि भएको छैन ।






