काठमाडौँ । अर्थ समितिका सदस्यहरूले राष्ट्रिय योजना आयोग राष्ट्रिय गौरवका आयोजनाको प्रगतिमा जिम्मेवार बन्नुपर्ने बताएका छन् ।
अर्थ समितिको बैठकमा उनीहरूले आयोगले अनुगमन गर्ने मात्रै नभई जिम्मेवार बनाउनुपर्ने बताएका हुन् ।
सांसद सागर भुसालले राष्ट्रिय गौरवका आयोजनाको लज्जास्पद प्रगतिको जिम्मा आयोगले लिन्छ कि लिँदैन भन्ने प्रश्न गरे । उनले आयोगले अनुगमन मात्रै गर्ने तर अवस्था चाहिँ जस्तो छ त्यस्तै हुनु दुर्भाग्यपूर्ण भएको बताए ।
‘तपाईँहरू अनुगमनमा त जानुभयो, तर कम काम भएकोमा कसलाई कति पटक कारबाहीको सिफारिस गर्नुभयो?,’ उनले भने, ‘यो जिम्मा कसको हो ?’
सांसदहरूले राष्ट्रिय गौरवका आयोजनाहरूको दीर्घकालीन प्रयोजनको लागि गुणस्तर कायम समेत नभएको बताए । मध्य पहाडी राजमार्ग अनावश्यक रूपमा नागबेली बनाएका कारण यसले लागत यातायात लागत महँगो पर्ने अवस्था रहेको उनीहरूको भनाइ छ ।






