वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध चर्किरहेका बेला सम्भावित ग्राउन्ड अभियान अर्थात् स्थलमार्गबाट हुने सैन्य कारबाहीको संकेत दिएका छन् । यद्यपि उनले यसबारे कुनै स्पष्ट योजना वा कसले यस्तो अभियान सञ्चालन गर्ने भन्ने खुलाएका छैनन् ।
फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले आफू स्थलयुद्ध चाहँदैनन् भन्दै कहिलेकाहीँ ग्राउन्ड अभियान आवश्यक पर्न सक्ने बताए । अमेरिकाका लागि अरूले यस्तो अभियान सञ्चालन गर्न सक्ने बताए पनि ट्रम्पले शक्ति वा मुलुकको नाम भने लिएनन् ।
सैन्य विश्लेषकहरूका अनुसार यदि यस्तो अभियान सञ्चालन गरियो भने सम्भावित लक्ष्यहरूमा इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग टापु वा फारसी खाडी किनारका दक्षिणी तटीय क्षेत्रहरू पर्न सक्छन् । तर अमेरिकी सेना वा कुनै सहयोगी राष्ट्रका फौजलाई इरानको तटमा सुरक्षित रूपमा अवतरण गराएर त्यहाँ लामो समय टिकाइराख्नु अत्यन्त जटिल र जोखिमपूर्ण हुने विश्लेषकहरूको भनाइ छ ।
पानी र जमिन दुबैमा सैन्य आक्रमण सफल बनाउन विशेष समुद्री र भौगोलिक अवस्था आवश्यक पर्छ । सम्भावित अवतरण क्षेत्र पहिचान भएपछि रक्षात्मक पक्षले त्यही स्थानमा आफ्नो सुरक्षा बल केन्द्रित गर्न सक्छ ।
अवतरण गर्ने समुद्री मार्गमा बारुदी सुरुङ बिछ्याउने वा अन्य अवरोध खडा गर्न सकिन्छ । त्यसपछि ड्रोन, घुमन्ते आक्रमणकारी हतियार, तोप, मोर्टार तथा हल्का हतियार प्रयोग गरी किनारमा उत्रिएका सैनिकलाई निशाना बनाउन सकिन्छ ।
विश्लेषकहरूका अनुसार तटमा पुगेका सैनिकलाई हतियार, औषधि, खाना र पानी जस्ता आवश्यक सामग्री निरन्तर उपलब्ध गराउने आपूर्ति प्रणाली पनि आक्रमणकारी पक्षका लागि ठुलो चुनौती बन्न सक्छ । किनकि आपूर्ति गर्ने जहाजहरू पनि उही प्रकारका आक्रमणको जोखिममा पर्छन् ।
अमेरिकी सेनाका क्याप्टेन ड्यानियल एस. होजेस्टिनले सैन्य जर्नल मिलिटरी रिभ्यु मा प्रकाशित लेखमा आधुनिक तटीय युद्धको सन्तुलन अहिले रक्षात्मक पक्षको पक्षमा बलियो रूपमा गएको उल्लेख गरेका छन् ।
यसैबिच, अमेरिकी रक्षा विभागका अनुसार २ हजारभन्दा बढी सैनिक रहेको ११औँ मरीन एक्स्पेडिसनरी युनिट हाल यूएसएस बक्सर एम्फिबियस रेडी समूहका जहाजहरूमार्फत पश्चिम एसिया क्षेत्रमा तैनाथ छ । यस्ता मरीन युनिटहरूलाई सामान्यतया उद्धार, उभयचर आक्रमण, तटीय छापा तथा अन्य विशेष सैन्य अभियानमा प्रयोग गरिन्छ ।
तीसँग स्थल, हवाई तथा विशेष अभियान सञ्चालन गर्न सक्षम सैनिक पनि रहने गर्छन् । यसका साथै अमेरिकी सेनाको ८२औँ एयरबोर्न डिभिजनको इमिडियट रेस्पोन्स फोर्सलाई पनि केही घण्टामै बन्दरगाह वा विमानस्थल नियन्त्रणमा लिनेजस्ता अभियानका लागि परिचालन गर्न सकिने जनाइएको छ ।






