ओह माई गड २’ को कथा मेरो हो, तर मलाई क्रेडिट दिइएन : परेश रावल

मुम्बई । बलिउड फिल्म ‘हेरा फेरी ३’ लाई लिएर अक्षय कुमारसँग भइरहेको विवादका बिच वरिष्ठ अभिनेता परेश रावलले अर्को सनसनीपूर्ण खुलासा गरेका छन् ।

उनले फिल्म ‘ओह माई गड २’ (ओएमजी २) को वास्तविक कथा र अवधारणा आफ्नै भएको दाबी गरेका हुन् । तर पछि यसको स्क्रिप्ट परिवर्तन गरिएको र आफूलाई यसको कुनै क्रेडिट समेत नदिएको गुनासो उनले गरेका छन् ।

विक्की लालवानीसँगको अन्तर्वार्तामा परेश रावललाई ‘ओएमजी २’ मा काम नगर्नुको कारणबारे सोधिएको थियो । जवाफमा उनले फिल्मका निर्देशक अमित रायसँग मिलेर आफूले नै यो योजना बनाएको बताए । उनले भने, ‘मैले अमित रायसँग रोड टु संगम फिल्ममा काम गरेको थिएँ । म उनको प्रशंसक हुँ । त्यसैले मैले उनलाई केही नयाँ सोचिरहेको छौ भनी सोधेँ र मसँग एउटा आइडिया छ, मिलेर काम गरौँ भनेँ ।’

आफ्नो वास्तविक आइडियाबारे प्रस्ट पार्दै परेश रावलले हस्तमैथुन गर्दा समातिएको र भिडियो भाइरल भएर मजाक बनेको एउटा युवकको कथा आफूले सोचेको बताए । ती युवकका बुबा खजुराहोको टुरिस्ट गाइड भएको तर निर्देशक अमितले बुबालाई महाकालको पुजारी देखाउने थप सोच राखेको उनले बताए । कथा कतै पनि अश्लील नलागोस् भन्नका लागि आफूले सेक्सोलोजिस्ट साथीसँग ५–५ घण्टासम्म बसेर छलफल गरेको उनले उल्लेख गरे ।

यो कथामा परेश रावलले एउटा बाइक चलाउने वा सामान बेच्ने मानिसको थप पात्र सिर्जना गरेका थिए, जो बिच–बिचमा आएर ज्ञान दिएर जान्थ्यो । त्यो रोलका लागि उनी आफैँ अजय देवगन र सलमान खानकहाँ गएका थिए ।

अक्षयकहाँ नगएको कारण खोल्दै उनले भने, ‘यदि म अक्षयकहाँ गएको भए यो फिल्म ओह माई गड २ बन्दैछ भन्ने सन्देश जान्थ्यो । त्यसैले म विपुल शाहकहाँ पनि गएँ र बैठक पनि भयो । तर पछि अमितको फोन आयो र उनले केही गडबड भएको बताए । उनले अरू नै मानिसहरू यस फिल्ममा इच्छुक भएको र अक्षयले यो फिल्म गर्न लागेको जानकारी दिए ।’

  • अनजानमा लेखिएको ‘ओएमजी २’ र क्रेडिट नपाएको पीडा

निर्देशक अमित रायले अनजानमा वा कमजोरीका कारण उक्त स्क्रिप्टमाथि ‘ओएमजी २’ लेखिदिएको परेश रावलको भनाइ छ । उनले भने, ‘हामीलाई ओएमजी जस्तै छुट्टै र नौलो विषयमा फिल्म बनाउनु थियो, यो ओएमजी २ थिएन । तर ती मानिसहरूले अमितबाट स्क्रिप्ट लिए । मैले अमितलाई यो कुनै फ्रेन्चाइजी होइन भनेँ, तर म उनीसँग झगडा गर्न सक्दिनथेँ ।’

अक्षय कुमार आफैँले परेश रावललाई फिल्म गर्न आग्रह गरे पनि उनले अस्वीकार गरिदिएका थिए । परेश रावलले भने, ‘यदि यो वास्तविक सीक्वल हुन्थ्यो भने म फिल्म पक्कै गर्थेँ, राम्रो पैसा लिन्थेँ र स्टोरीको क्रेडिट पनि लिन्थेँ । तर दुःखको कुरा, मलाई स्टोरीको क्रेडिट पनि दिइएन । म कथाकार होइन, तर कथाको अवधारणा परेशको थियो भन्ने क्रेडिटसम्म पनि पाइनँ ।’

यो कथा आफ्नो हो भन्ने कुरा अक्षय कुमार, करण जोहर, सोमेन मिश्रा, अश्विन वर्दे र सलमान खान सबैलाई थाहा भएको उनको दाबी छ ।

परेश रावल फिल्मबाट हटेपछि उनको स्क्रिप्टमा बनेको फिल्म ‘ओएमजी २’ लाई अमित रायले नै निर्देशन गरे र स्टोरी क्रेडिट पनि अमितले नै पाए । अक्षय कुमार, पंकज त्रिपाठी र यामी गौतमको मुख्य भूमिका रहेको यो फिल्म सन् २०२३ मा रिलिज भई हिट भएको थियो ।

सेयर गर्नुहोस्