नेपाल बंगलादेशसँग पराजित, सुवाशले लिए ५ विकेट

काठमाडौं । आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्समा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । बिहिबार भएको सुपर सिक्सको पहिलो खेलमा नेपाल ५ विकेटले पराजित भएको हो ।

जितका लागि एक सय ७० रनको लक्ष्य पाएको बंगलादेशले २५.२ ओभरमा ५ विकेट गुमाएर पुरा गर्‍यो । बंगलादेशका जिसन आलम र अरिफुल इस्लामले अर्धसतक प्रहार गरे । आलमले ४३ बलमा ५५ तथा इस्लामले ३८ बलमा ५९ रन बनाए । नेपालका लागि सुवाश भण्डारी एक्लैले ५ विकेट लिए ।

यसअघि आज टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाएर १६९ रन बनाएको थियो । नेपालका लागि विशालविक्रम केसीले सर्वाधिक ४८ रन बनाए । केसीले एक सय बल खेल्दै ६ चौका प्रहार गरे । यस्तै कप्तान देव खनालले ३५, सुवाश भण्डारीले अविजित १८ तथा अर्जुन कुमालले १४ रन बनाए ।

बलिङतर्फ बङ्गलादेशका लागि रोहानत दोउल्लाह बोर्सनले चार, शेख प्रवेज जिवनले तीन तथा इकबाल हुसेन इमोन, मरुफ मृधा र जिशान आलमले एक एक विकेट लिए ।

सेयर गर्नुहोस्