दूर्घटना न्यूनीकरण गर्न चितवनका सडक छेउमा सचेतनामुलक बोर्ड

चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले सडक दूर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतनामुलक कार्यक्रम थालेको छ । दुर्घटना संभावित क्षेत्रमा सूचनामुलक बोर्ड राख्नेदेखि सवारी साधनको चेकजाँचलाई पनि तिव्रता दिएको छ । ट्राफिक प्रहरी कार्यालयले पूर्वपश्चिम राजमार्ग अन्तरगत टिकौली जंगल सडक खण्डमा धेरै दुर्घटना हुन थालेपछि त्यस क्षेत्रमा सूचनामुलक बोर्ड राखेको हो ।

‘हाम्रो अभियान सुरक्षित र सहज आवागमन’ नारा दिएर ‘सावधान १ दुर्घटना संभावित क्षेत्र’ लेखिएको बोर्डहरु राखिएको जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक सुरेश सुवेदीले जानकारी दिए । ‘जहाँ बढी दुर्घटना हुँदै आइरहेको छ ती ठाउँहरुमा सचेतनामुलक बोर्ड राख्न थालेका छौं, यसले अलिकति भएपनि सवारी चालकलाई होसियार बनाउने छ भन्नेमा विश्वास छ’–सुवेदीले भने । उनले केहीदिनमै ट्राफिक सचेतनामुलक सप्ताहव्यापी कार्यक्रम समेत थालनी गर्ने बताए ।

कार्यालयले विभिन्न संघसंस्थाहरुको सहयोगमा ट्राफिक सचेतामुलक बोर्ड राख्न थालेको हो । यसपटक टिकौली सडकखण्डसंगै भरतपुर–पदमपुर जोड्ने खगेरी पुल नजिकै पनि सूचनामुलक बोर्ड राखेको छ । कार्यालयले शैक्षिक परामर्श संस्था एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनसंगको सहकार्यमा जिल्लाभर नै सचेतनामुलक कार्यहरु अगाडि बढाएको छ । एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले दुर्घटना न्यूनीकरण अभियानमा ट्राफिक प्रहरी कार्यालयसंग विगतदेखि नै सहकार्य गर्दै आइरहेको भन्दै आगामि दिनमा पनि सहकार्यलाई निरन्तरता दिने बताए । उनले यस अभियानले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वास लिए ।

उनले एक्सपर्ट चितवनले ट्राफिक सचेतनादिन सबै किसिमका कार्यक्रममा सहयोग गर्दै आइरहेको बताए । चितवनमा मुख्य राजमार्गसंगै भित्री सडक खण्डमा समेत दुर्घटना बढेको छ । पछिल्लो समय नारायणगढ–मुग्लिन सडक खण्डमा समेत दुर्घटना बढेकाले सचेतना अभियानलाई ट्राफिक प्रहरीले अगाडि बढाएको हो ।

सेयर गर्नुहोस्