महामन्त्री थापाले रोके संवाद यात्रा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संवाद यात्रा रोकेका छन्।

केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको गए राति उपचारका क्रममा निधन भएपछि थापाले अहिलेका लागि संवाद यात्रा रोकेका हुन्।

कांग्रेसमा बहालवाला केन्द्रीय सदस्यको निधनमा एक दिन पार्टी कार्यालयमा झण्डा झुकाउने र तीन दिन औपचारिक कार्यक्रम स्थगित गर्ने परम्परा छ।

महामन्त्री थापा संवाद यात्राका क्रममा आज नवलपरासीमा थिए।

उनले संवाद यात्रालाई माघ २६ गते कञ्चनपुर पुगेर समापन गर्ने तयारी गरेका थिए। गत माघ १३ गतेदेखि थापाले झापास्थित मेची पुलबाट संवाद यात्रा थालेका थिए।

महामन्त्री थापाले संवाद यात्रा स्थगित गरेको जानकारी दिए।

‘मेरो यात्रा पनि जहाँ रोकिएको छ, यहीँ ठाउँबाट महासमिति बैठकपछि फेरि सुरू गर्नेछु,’ थापाले नवलपरासीमा आयोजित संवाद यात्राका क्रममा मंगलबार बिहान भएको कार्यक्रममा भने, ‘कञ्चनपुरसम्म सात दिनको यात्रा बाँकी छ।’

समुदायमा पुगेर नागरिकका गुनासा र सुझाव सुन्दै थापाले संवाद यात्रालाई केही दिनदेखि जारी राखेका थिए।

महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म हुने भएकोले त्यसको तयारीमा लाग्नुपर्ने भएकोले अब महासमिति बैठकपछि मात्रै समुदायमा कांग्रेस अभियान सञ्चालन गरिने महामन्त्री थापाको भनाइ छ। यसको औपचारिक निर्णय आजै बस्ने केन्द्रीय समितिले गर्ने उनले बताए।

‘महासमिति बैठकलगत्तै समुदायमा कांग्रेस अभियानको मिति तोकिन्छ, फागुनभित्रै अभियान चल्छ,’ उनले भने।

महामन्त्री थापा हुलाकी राजमार्गकेन्द्रित २१ जिल्लामा संवाद यात्राका लागि निस्केका थिए।

सेयर गर्नुहोस्