गणेशबहादुर स्मृति फुटबल सुरु, भोजाड एफसी र यात्रा ग्रुप विजयी

चितवन । छैटौं गणेशबहादुर स्‍मृति जिल्ला स्तरीय अन्डर २१ नकआउट फुटबल प्रतियोगितामा भोजाड एफसी र यात्रा ग्रुपले विजयी सुरुवात गरेका छन् । युनिक क्लब भरतपुर ११ को आयोजनामा आज (शनिबार) बाट सुरु भएको प्रतियोगिताको पहिलो खेलमा भोजाडले आयोजक सेतोलाई १-० ले पराजित गरेको हो ।

यस्तै आजै सम्पन्न दोस्रो खेलमा यात्राले भरतपुर २४ लाई ३-० ले हरायो । यात्राको जितमा दुई गोल गरेका राज म्यान अफ दि म्याच भए । भोजाडका किरण गुरुङ म्यान अफ दि म्याच भए । प्रतियोगितामा आइतबार एक खेल हुनेछ । आइतबार रत्नप्रिय एफसी र भतेरी एफसी भिड्नेछन् । खेल दिउँसो ३ बजे हुने कार्यक्रम संयोजक अमृत घलेले जानकारी दिए । त्यस अघि प्रतियोगिताको उद्घाटन चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्री कृष्ण कार्कीले गरेका थिए ।

उद्घाटन समारोह क्लबका संरक्षक ईन्द्रजित गुरुङको अध्यक्षता सम्पन्न भएको थियो । फागुन ७ गतेस्म्म हुने प्रतियोगिताको विजेताले ट्रफीसहित एक लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्ने संयोजक घलेले बताए । प्रतियोगिताभरको सर्वोत्कृष्ट खेलाडीले ५ हजार तथा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, स्ट्राईकर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले जनही ३-३ हजार रुपैयाँ प्राप्त गर्नेछ । हरेक दिन म्यान अफ दि म्याचले २ हजार प्राप्त गर्नेछ ।

सेयर गर्नुहोस्